भारतले मालदिभ्सलाइ एक अर्ब ४० कराेड डलर सहयाेग दिने घाेषणा

नयाँ दिल्ली, भारत, २ पुस : भारतको निकट मानिने मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँगको वार्तापछि भारतले मालदिभ्सलाई एक अर्ब ४० करोड अमेरिकी डलर सहयोग दिने भएको सोमबार मालदिप्सका अधिकारीहरूले जनाएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि मालदिभ्सका राष्ट्रपति सोलिहले सञ्चारकर्मीहरूसँग भन्नुभयो, “निकट छिमेकीका नाताले दुई देशका जनताबीच मित्रवत सम्बन्ध र सांस्कृतिक समानता रहेको छ ।” उहाँले भन्नुभयो, “घनिष्ट छिमेकीका हिसाबले दुई देशबीचको व्यापार व्यवसायलाई प्रवद्र्धन सम्भव भएको छ । भारत बङ्गलादेशको एक निकट मित्रमात्रै नभएर एउटा विशाल व्यापारिक सहयोगी हो ।” 

भेटवार्तामा दुई देशका अधिकारीबीच सामुद्रिक गस्ती, हवाई निरीक्षण र सूचनाको आदानप्रदानमार्फत दुबै देशको सुरक्षालाई मजबुत पार्ने सहमति भएको बताइएको छ । 

भारतले मालदिभ्सको विकासका लागि गरेको एक अर्ब ४० करोड अमेरिकी डलर सहयोग बजेट, मुद्राको विनिमय व्यवस्थापन र ऋण गरी विभिन्न शीर्षकमा प्रदान गरिने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभयो । 
दुई देशबीचको गहिरो सम्बन्ध विस्तारका लागि छलफल सफलसिद्ध भएको मोदीको भनाई थियो । 

भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, “हामीले मालदिभ्ससँग बृहद् व्यापार सम्बन्ध चाहन्छौँ । भारतीय कम्पनीहरूका लागि बङ्गलादेशमा प्रशस्त अवसरहरू रहेका छन् । यो दुबै मुलुकका लागि फाइदाको बिषय हो ।” 

उहाँले भन्नुभयो, “हाम्रो सुरक्षा चासोहरू अन्तरनिहित छन् । हामीले हाम्रा जन्मभूमिमा एक आपसमा हानिकारक हुने गतिविधिलाई प्रवेश दिने छैनौँ ।” 

निर्वाचनपूर्व खासै चर्चामा नआएका चवन्न बर्षीय सोलिहले पूर्व राष्ट्रपति अब्दुल्लाह यमीनसँगको प्रतिस्पर्धामा अनपेक्षित रूपमा राष्ट्रपति निर्वाचित बन्नुभएको थियो । यमीनलाई चीनको निकटस्थ मानिन्थ्यो भने सोलिहलाई भारत तथा पश्चिमा मुलुकहरूको सहयोग रहेको बताइने गर्छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.