श्रीलङ्काका अपदस्थ प्रधानमन्त्रीलाई पुनः स्थापित गर्न संसद्को माग

कोलम्बो, २६ मङ्सिर : श्रीलङ्काको संसद्ले अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई पुनः स्थापित गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।

बुधबार भएको मतदानमा ठूलो सङ्ख्यामा सांसदले विक्रमासिंघेलाई पुनः स्थापित गर्नुपर्ने पक्षमा मतदान गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

शक्ति सङ्घर्ष थप चर्किन नदिनका लागि यो नै सबैभन्दा उपयुक्त र वैधानिक उपाय भएको संसद्द्वारा पारित प्रस्तावमा उल्लेख छ ।

विक्रमासिंघेको पार्टीबाट संसदमा सदस्य रहेका र त्यससँग गठबन्धन गरेको पार्टीबाट सदस्य भएका गरी संसद्को कूल ११७ जना सदस्यले उहाँको पुनः स्थापनाको पक्षमा मतदान गरेका हुन् ।

उनीहरूले सो प्रस्ताव तत्काल कार्यान्वयन गर्न राष्ट्रपति मैत्रीपाला सिरिसेनाको ध्यानाकर्षणसमेत गराएको समाचारमा जनाइएको छ ।

“मलाई विश्वासको मत दिएर संसद्ले मेरो पुनः स्थापनाको निर्णय गरेको छ, त्यसले गत अक्टोबर २६ मा भएको गलत काम सच्याउने मौका दिएको छ,” संसद्को निर्णयपछि विक्रमासिंघेले भन्नुभयो ।

सिरिसेनाले तत्कालीन प्रधानमन्त्री विक्रमासिंघेलाई अपदस्थ गरेर पूर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

तर संसद् र अदालत दुवैले त्यो नियुक्तिलाई अवैध भन्दै खारेज गरिदिएका थिए भने विक्रमासिंघे र राजापाक्षे दुवैले आफू प्रधानमन्त्री भएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.