भेनेजुयला आक्रमणमा अमेरिकी सम्लग्नता छैन : बोल्टन

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २० साउन : आइतबार भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोलाई लक्षित गरी भएको भनिएको ड्रोन आक्रमणमा ‘अमेरिकी सरकारको सम्लग्नता’ नरहेको अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनले बताउनुभएको छ ।

भेनेजुयलाका राष्ट्रपतिले राजधानी काराकस सैन्य प्रदर्शनपछिको कार्यक्रमलाई सम्बोधन गर्दैगर्दा मदुरोलाई ड्रोनको सहयोगमा विष्फोट गरी आक्रमण प्रयास गरिएको थियो । तर उक्त घटनामा राष्ट्रपतिलाई कुनै चोट नलागेको बताइएको छ । राष्ट्रपतिको सुरक्षार्थ खटिएका केही सैनिक भने आक्रमणमा घाइते भएका थिए ।

अमेरिकी फक्स टेलिभिजनसँग कुराकानी गर्दै आक्रमणमा अमेरिकी सम्लग्नता नरहेको बोल्टनले बताउनुभएको हो । बोल्टनले घटनाप्रति शङ्का गर्दै भन्नुभयो, “घटना भेनेजुयलाको मदुरो सरकारद्वारा आफै रचेको प्रपञ्च वा अन्य केही भएको हुनसक्छ ।” अमेरिकी सम्लग्नतालाई नकार्दै बोल्टनले भन्नुभयो, “यदि भेनेजुयलासँग घटनामा अमेरिकी सम्लग्नता रहेको प्रष्ट सूचना छ भने यसको हामीले गम्भीरतासाथ हेर्नेछौँँ ।”

राष्ट्रपति मदुरोले आक्रमणलाई हत्या प्रयासमा कोलम्बियाको सम्लग्नता रहेको आरोप लगाउनुभएको थियो । यद्यपि आक्रमणको एक भूमिगत विद्रोही समूहले जिम्मेवारी लिएको थियो ।

बोल्टनले भेनेजुयलामा रहेको अमेरिकी कार्यबाहक राजदूतलाई सम्पर्क गरेको बताउँदै आफ्नो राजदूताबास र यसमा कार्यरत कर्मचारी सबै सकुशल रहेको कार्यबाहक राजदूतले बताएको जानकारीसमेत टेलिभिजनमार्फत गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.