तरकारीमा लुकाइएको बम पड्किँदा ३१ व्यक्तिको मृत्यु

पेशावार, पाकिस्तान, ७ मङ्सिर : पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तरकारी राखेको कार्टुनमा लुकाइएको बम विस्फोटन हुँदा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

मानिसको अत्यधिक भिडभाड भएका बेला भएको घटनामा परी अरु ५० भन्दा बढी घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

हरेक शुक्रबार साप्ताहिक बजार लाग्ने ठाउँ कलायामा तरकारीसँगै बेरेर राखिएको बम विस्फोटन भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।

घटना भएको क्षेत्रमा सिया मुसलमान समुदायको बढी प्रभाव रहेको स्थानीय वरिष्ठ प्रहरी खालिद इक्वालले एएफपीलाई बताउनुभयो ।

“हामीलाई प्राप्त प्रारम्भिक विवरण अनुसार तरकारीको कार्टुनमा लुकाएर राखिएको विस्फोटक पदार्थ अकस्मात पड्किएको थियो,” उहाँले भन्नुभयो ।

अर्का एक जना वरिष्ठ अधिकारी अमिन उल्लाहले कम्तीमा ३१ जनाको मृत्यु भएको र ती मध्ये २२ जना सिया मुसलमान समुदायका भएको जानकारी दिनुभयो ।

घटनामा परी घाइते भएका ५० जना मध्ये १७ जनाको अवस्था गम्भीर रहेको पनि अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.