जिम्बाबेको राष्ट्रपतिमा मान्गाग्वा विजयी

हरारे, १८ साउन : जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी हुनुभएको छ । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले संसदमा समेत बहुमत प्राप्त गरेको छ ।

मान्गाग्वाले ५०.८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । उहाँका विपक्षी नेल्सन चामिसाले ४४.३ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । तर विपक्षीहरुले मतदानमा धाँधली भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने वा सडकमा प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।

मतदानको दिन शान्तिपूर्ण रहेपनि गत बुधबार मतदानमा धाँधली भएको खबर फैलिएसँगै एकाएक हिंसा भडकिएको थियो । हिंसात्मक झडपका कारण तीन जनाको मृत्यु समेत भएको थियो ।

नवनिर्वाचित राष्ट्रपति मान्गाग्वाले ट्वीट गर्दै भन्नुभएको छ, “चुनावताका हामी विभाजित भयौं होला, अब हामी समृद्ध जिम्बाबे बनाउने सपना पूरा गर्न एक भएका छौं । यो नयाँ सुरुआत हो । हामी हात मिलाऔं, नयाँ जिम्बाबे निर्माण गर्न शान्ति, एकता, प्रेम र भातृत्व कायम गरौं ।”

विपक्षीद्वारा मतपरिणाम बहिस्कार

जिम्बाबेको प्रमुख विपक्षी गठबन्धन मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) ले वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी भएको परिणाम आफ्नो गठबन्धनले अस्वीकार गरेको जनाएको छ ।

सो गठबन्धनका प्रमुख नेल्सन चामिसाले यस नतिजालाई फर्जी भन्नुभएको छ । ‘यो निर्वाचन धाँधलीपूर्ण रुपमा गराइएको छ, हामी यस्तो नतिजा अस्वीकार गर्दछौँ’ उहाँले भन्नुभयो ।

तर पनि जिम्बाबेको निर्वाचन आयोगले निर्वाचन निष्पक्ष रुपमा भएको र कुनै धाँधली नभएको स्पष्ट पारेको छ ।

यो चुनाव सम्पन्न भएपछि नै मतगणना जारी रहेकै बेलादेखि विपक्षी गठबन्धनले निर्वाचन प्रक्रियाको विरोध गरेको थियो । उसको विरोधका कारण देशव्यापी रुपमा हिंसा पनि मच्चिएको थियो ।

गएको नोभेम्बरमा सत्ताच्यूत ९४ वर्षीय पूर्व राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएपछि जिम्बाबेमा पहिलोपटक संसद र राष्ट्रपतिको निर्वाचन भएको हो । मुगाबेलाई पदबाट हटाएपछि मान्गाग्वा नै राष्ट्रपति हुनुभएको हो ।

गत सोमबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपति मान्गाग्वा नै विजयी हुनुभएको शुक्रबार बिहान निर्वाचन आयोगले औपचारिक घोषणा गरेको छ ।

परिणामअनुसार मान्गाग्वाले २४ लाख ६० हजार ४६३ मत प्राप्त गर्नुभएको छ । यो मत परिणाम यहाँको निर्वाचनमा खसेको कूल मतको ५०.८ प्रतिशत हो ।

त्यसैगरी विपक्षी नेता नेल्सन चामिसाले २१ लाख ४७ हजार ४३६ अर्थात् ४४.३ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगद्वारा सार्वजनिक परिणाममा जनाइएको छ ।

यस परिणामप्रति प्रतिपक्षी दलको औपचारिक प्रतिक्रिया भने आएको छैन । निर्वाचनमा धाँधली भएको भन्दै यहाँको विपक्षी गठबन्धनले मतगणना शुरु भएदेखि नै विरोध गर्दै आएको थियो ।

राजधानी हरारेमा भएको प्रदर्शन दबाउन प्रहरी र सेनाको गोली लागेर छ जनाको मृत्यु भइसकेको छ । लामो समय सत्तामा रहेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेलाई पदबाट हटाइएपछि यहाँ पहिलो पटक आमनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.