श्रीलङ्कामा नोभेम्बर ७ मा संसद् बैठक
कोलम्बो, १६ कात्तिक : श्रीलङ्काली सभामुखले यहाँको संसद्को बैठक यही नोभेम्बर ७ तारिखका लागि आह्वान गर्ने जानकारी शुक्रबार दिनुभएको छ ।
उहाँले शुक्रबार यहाँका सांसदहरुसँग बैठक गर्नुभएको थियो । सो बैठकपछि आगामी ७ नोभेम्बरमा संसद्को बैठक बोलाइने जानकारी दिनुभएको बताइएको छ ।
यहाँका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भने यहाँको संसद् निलम्बन गर्नुभएको थियो । उहाँले नोभेम्बर १६ सम्मका लागि संसद् निलम्बन गरेको घोषणा यसअघि नै गर्नुभएको थियो ।
उक्त घोषणासँगै उहाँले श्रीलङ्काली प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गरी श्रीलङ्काको प्रधानमन्त्रीमा यहाँका पूर्वराष्ट्रपति र वर्तमान संसद्का एकजना सदस्य महिन्दा राजपाक्छेलाई नियुक्त गर्नुभएको थियो ।
प्रधानमन्त्रीमा राजपाक्छे नियुक्तिसँगै श्रीलङ्कामा राजनीतिक सङ्कट गहिरिएको थियो । विक्रमासिंघेले आफू नै प्रधानमन्त्री भएको र आफूले संसदबाट विश्वासको मत लिने बताएपछि राष्ट्रपति सिरिसेनाले संसद् नै निलम्बन गरिदिनुभएको हो ।
संसद्मा प्रतिनिधित्व गर्ने ११८ जना सदस्यसँग शुक्रबार सभामुखले बैठक गर्नुभएको संसदीय समितिका प्रवक्ता कारु जयासूर्यले जानकारी दिनुभयो । श्रीलङ्काको संसदमा २२५ सदस्य छन् ।
उहाँले भन्नुभयो, “बहुमत सदस्यहरु (११८) जनासँग सभामुखले शुक्रबार बैठक गर्नुभएको छ र बहुमत सदस्यहरुले संसदको बैठक बोलाउन आग्रह गर्नुभएको छ, त्यसैले सभामुखले संसद् बैठक बोलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।”
“यति धेरै संसद् सदस्यले आग्रह गरेपछि उहाँहरुको आग्रहलाई सभामुखले नकार्न मिल्दैन, त्यसैले नोभेम्बर ७ मा संसद् बैठक बोलाउने तयारी गर्नुभएको छ”, प्रवक्ता जयासूर्यले भन्नुभयो । तर राष्ट्रपति सिरिसेनाले भने संसदको बैठक नबोलाउन सभामुखलाई भन्नुभएको थियो । सभामुखले उहाँको आग्रह अस्वीकार गर्दै संसद्को बैठक बेलाउने तयारी गर्नुभएको हो ।
