रियादस्थित अस्पतालमा गाबोनका राष्ट्रपति भर्ना
रियाद, ९ कात्तिक : गाबोनका राष्ट्रपति अलि बोङगो साउदी अरबको रियादस्थित अस्पतालमा भर्ना हुनुभएको छ ।
साउदीको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमहरूले उहाँ अस्पताल भर्ना भएको जनाएपछि विस्तृत विवरण भने दिएका छैनन ।
साउदीका युवराज मोहम्मद विन सल्मानले अस्पताल पुगेर बोङगोलाई भेट्नु भएको छ । युवराज सल्मानले उहाँको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिनु भएको थियो ।
राष्ट्रपति बोङ्गोलाई रियादको किङ्ग फैसल हस्पिटलमा भर्ना गरिएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।
रियादमा भएको ‘फर्दर इन्भेस्टमेन्ट इनिसियटिभ फोरम’मा मुख्य वक्ताका रूपमा सहभागी हुने तालिका भएपनि ५९ बर्षिय बोङगो अस्पताल भर्ना हुनुभएको हो ।
गत सन् २०१२ मा अलि बोङगो राष्ट्रपतिमा पुनर्निर्वाचित हुनुभएको थियो । उहाँलाई निर्वाचित गराएको निर्वाचन धाँधलीपूर्ण भएको भन्दै विवादित बनेको थियो ।
