जापानी पत्रकार तीन वर्षपछि रिहा

टोकियो, ८ कात्तिक : जापानी स्वतन्त्र पत्रकार जुम्पाई यासुदा सिरियामा अपहरण भएको तीन वर्ष भन्दा लामो समयपछि मुक्त हुनुभएको छ ।

जापानको सरकारी टेलिभिजन एनएचकेले रिहा गरिएका पत्रकार यासुदा बिहीबार टर्कीको राजधानी इस्तानबुलबाट जापानतर्फ उड्नुभएको जनाएको छ ।

यासुदा तीन वर्षअघि सिरियामा बेपत्ता हुनु भएको थियो । उहाँलाई लामो समयसम्म कहाँ राखिएको थियो भन्ने बारेमा पत्ता लागेको थिएन ।

जापान सरकारले उहाँ सुरक्षित रहनु भएको बुधबार जानकारी दिएको थियो । उहाँ बिहीबार अबेर राति जापान फर्किने एनएचकेले जनाएको छ ।

जापान फर्किन पाएकोमा आफूलाई निकै खुशी लागेको उहाँले बताउनुभएको छ । ४४ वर्षीय यासुदाले तत्काल आफूले के गर्ने भन्ने प्रष्ट नभएको बताउनुभएको छ ।

मुक्त गरिएपछि एक कारबाट सिरियाको सीमा क्षेत्रमा लगिएको र त्यहाँ टर्कीका अधिकारीहरुलाई जिम्मा लगाइएको यासुदाले एनएचकेलाई बताउनु भएको छ ।

बुधबार जापान सरकारले सिरियाली आतङ्ककारीहरुले मुक्त गरेका व्यक्ति यासुदा नै भएको पुष्टि गरेको थियो ।

जापानी विदेशमन्त्री तारो कोनोले बुधबार भएको एक पत्रकार सम्मेलनमा यासुदा सुरक्षित रहेका र उनको स्वास्थ्यमा कुनै समस्या नदेखिएको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.