भारतमा भएको रेल दुर्घटनामा करिब साठीको मृत्यु
अमृतसर, भारत, ३ कात्तिक : भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसरमा शुक्रबार भएको रेल दुर्घटनामा परी करिब ६० व्यक्तिको ज्यान गएको छ ।
प्रहरी स्रोतले उक्त जानकारी दिएको छ । हिन्दू धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दशहरा पर्व हेर्न रेलको लिकनजिकै भेला भएका मानिसहरुमाथि रेल गुडेपछि सो घटना भएको थियो ।
प्रत्यक्षदर्शीले पुत्ला जलाइन लागेको भिडको आवाजले गर्दा रेल आफूतिर आउँदै गरेको रेलको आवाज नसुनेको बताएका छन् । तर आफन्त गुमाएर आक्रान्त भएका व्यक्तिहरुले भने सरकारले सुरक्षालाई ध्यान नदिएको भन्दै शनिबार प्रदर्शन गरेका छन् ।
‘जालन्धर–अमृतसर एक्प्रेस’ नामक यस रेलको मार्गमा दर्जनौ व्यक्ति जम्मा भएका र अचानक तीनवटा झट्कापछि रेल पल्टिएको बताइएको छ । शुक्रबार भएको यस दुर्घटना रेल चालकले रोक्न खोज्दा पनि नसकेको बताइएको छ । यद्यपी यस घटनापछि राजनितिक पार्टीलगयात रेलवे अधिकारीहरु र सर्वसाधारणबीच आरोप प्रत्यारोप शुरु भएको बताइएको छ ।
यस दुर्घटनामा परी ५९ व्यक्तिको मृत्यु हुनको साथै अन्य ९० जना घाइते भएका अमृतसर चिकित्सा सेवाका प्रमुख हरदीप सिंहले एएफपी समाचार समितिलाई बताउनु भएको छ । घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको पनि सिंहले बताउनु भएको छ । सिंहका अनुसार हालसम्म २५ शवको मात्र परिचय खुलेको छ ।
स्थानीय सम्बादाताहरुका अनुसार यो घटना शुक्रवार साँझ करिब ६ः३० बजे भएको थियो । घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या अझ बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ । भारतमा हरेक महिना रेलमार्गबाट सवारी साधन पार गर्दा नै दुर्घटना भएको पाइन्छ ।
भारतीय सरकार सन् २०१२ मा प्रकाशनमा ल्याएको एक प्रतिवेदनअनुसार हरेक वर्ष भारतमा हुने गरेको रेल दुर्घटनामा परी करिब १५ हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।
गत नोभेम्बरमा एक विद्यालयको बर्ष रेलमार्गबाट पार हुँदा भएको दुर्घटनामा परी १३ बालबालिकाको मृत्यु भएको थियो । उत्तर प्रदेश राज्यमा सन् २०१६ को नोभेम्बरमा ‘पटना –इन्डोर एक्प्रेस’ नामक एक रेल दुर्घटना हुदाँ १३९ व्यक्तिको मृत्यु भएको थियो ।