दक्षिण कोरियाली पूर्वराष्ट्रपतिद्वारा अदालतमा अपिल

सोल, २६ असोज : दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्योङ–बाकले आफूलाई सुनाइएको जेल सजायको कारवाहीविरुद्ध यहाँको अदालतसमक्ष अपिल गर्नुभएको छ ।

उहाँलाई भ्रष्टाचारको आरोपमा गत हप्त मात्र यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको थियो । अदालतको त्यस फैसलाविरुद्ध पूर्वराष्ट्रपति बाकले शुक्रबार अपिल गर्नुभएको उहाँका अधिवक्ताले जानकारी दिनुभएको छ ।

उहाँलाई एउटा घुसकाण्डमा दोषी ठहर गरी अदालतले १५ वर्षको जेल सजाय सुनाएको हो । उहाँ देशको उच्चपदस्थहरुमध्ये जेल पर्ने पछिल्लो व्यक्तित्वका रुपमा रहनुभएको प्राप्त समाचारहरुमा जनाइएको छ ।

अनुसन्धानका क्रममा पूर्वराष्ट्रपति बाकलाई एउटा अटोपार्ट कम्पनीमा लगानी रहेको पाइएको थियो । तर उहाँले सो कम्पनी आफ्नो नभएर भाइको रहेको दाबी गर्दै आउनुभएको थियो ।

सोही कम्पनीसँग सम्बन्धित कार्यमा उहाँले करीब २४ अर्ब वन (कोरियाली पैसा) अपचलन गरेको ठहर उक्त अदालतले गरेको थियो ।

उहाँले आफूमाथि अन्याय भएको भन्दै सो कारवाहीविरुद्ध अदालतसमक्ष अपिल गर्नुभएको उहाँका अधिवक्ताले जानकारी दिएका समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.