बुल्गेरियाली पत्रकारको हत्या आशंकामा पक्राउ

सोफिया, २४ असोज : जर्मन प्रहरीले बुल्गेरियाका टेलिभिजन पत्रकार भिक्टोरिया मारिनोभाको बलात्कार र हत्याको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको बुल्गेरियाली अधिकारीहरुले बताएका छन् ।

तर मारिनोभाको हत्या हुनुमा पत्रकारिता पेशा नभई व्यक्तिगत कारण रहेको बताइएको छ ।

तीस वर्षीया मारिनोभाको मृत शरीर उत्तरी बुल्गेरियाको रुज सहरको नदी किनाराको बाटोमा फालिएको अवस्थामा भेटिएको थियो । उहाँ रुजस्थित सानो निजी टीभीएन टेलिभिजन च्यानलका लागि समसामयिक कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो ।

अधिकारीहरुले मारिनोभाको टाउकोमा गहिरो चोट लागेको र निस्सासिएर मृत्यु भएको बताएका छन् । बुल्गेरियाली अधिकारीहरुको अनुरोधमा जर्मन प्रहरीले शंकास्पद व्यक्तिलाई गिरफ्तार गरेको बुल्गेरियाका गृहमन्त्री म्लादेन मारिनोभले पत्रकारहरुलाई बताउनुभयो ।

जर्मन प्रहरीले पनि बलात्कार, लुटपाट र हत्याको आशंकामा जर्मनीको ह्यामबर्ग नजिक स्टाड नगरबाट २० वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको पुष्टी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.