‘नेपाली चलचित्र स्वर्णीम महोत्सव २०७६’ को राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ।

वीरगञ्ज, २१ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले परिपूर्ण दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तरराष्ट्रिय क्षेत्रसम्म पु¥याउनुपर्ने बताउनुभएको छ ।

नेपाली चलचित्र प्रदर्शन ५४ औँ वर्षमा प्रवेश गरेका उपलक्ष्यमा वीरगञ्जमा आयोजित ‘नेपाली चलचित्र स्वर्णीम महोत्सव २०७६’ को आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको सांस्कृतिक, भाषिक क्षेत्रको विकासमा ठूलो योगदान पु¥याएको नेपाली चलचित्र जगत्लाई अगाडि बढाउनुपर्नेमा पनि जोड दिनुभयो । तीन दिनसम्म चल्ने महोत्सवमा ६ भन्दा बढी चलचित्र प्रदर्शन गरिने छन् ।

“प्राकृतिक छटाले भरिपूर्ण रहेको तथा प्रकृतिको काखमा अवस्थित यो प्रदेशमा आयोजित यस कार्यक्रमले चलचित्र क्षेत्रको विकासमा थप टेवा थपेको छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “चलचित्रको कारण देशको गौरवको बढेकाले यसलाई सबै क्षेत्रबाट सहयोगको आवश्यकता छ ।” राष्ट्रपति भण्डारीले चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नुपर्ने पनि बताउनुभयो । उहाँले स्वच्छ, स्वस्थ, स्वतन्त्र रुपमा निर्माण गर्नुपर्ने बताउँदै निर्माताहरुलाई समाजमा व्याप्त रहेको बोक्सी प्रथा, बालविबाह, दाइजो प्रथा जस्ता कुरीतिको विरोधमा सकारात्मक चलचित्र बनाउन सुझाव दिनुभयो ।

पहिलो नेपाली चलचित्रलाई सम्पादन गर्ने बैकुण्ठ मास्केलाई बिहीबार वीरगन्जमा कदर पत्रले सम्मानित गर्दै राष्ट्रपति विद्यादेवि भण्डारी । नेपाल चलचित्र निर्माता संघले वीरगञ्जको आदर्शनगर रङशालामा आयोजना गरेको नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६को अवसरमा उहाँलाई सम्मानित गरिएको हो । तस्बिर: विजयकुमार महतो

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाली चलचित्रका प्रथम छायाकार बैकुण्ठ मास्के र सम्पादक तीर्थराज श्रेष्ठलाई स्वर्णीम सम्मान प्रदान गर्नुभयो भने केडिया समूहका तर्फबाट प्रदीप केडियालाई सम्मान हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रलाई मनोरञ्जनका रुपमा मात्र नलिएर यसमा नयाँनयाँ सिर्जना गरी हिमाल, पहाड र तराईलाई भावनात्मक रुपमा जोड्नुपर्ने तथा चलचित्र क्षेत्रको विकासमा सरकार मात्र नभएर निजी क्षेत्र पनि अग्रसर हुनुपर्ने बताउनुभयो । चलचित्र निर्मातालाई सिर्जनात्मक तथा नेपालीपन एवं मौलिकतालाई ध्यानमा राखी चलचित्र निर्माण गर्न पनि उहाँले आह्वान गर्नुभयो ।

नेपाली चलचित्रको विकासका लागि वर्तमान सरकार नयाँ कानुन निर्माणतर्फ अग्रसर रहेको जानकारी उहाँले दिनुभयो । मैथिली भाषाका कविकोकिल विद्यापतिलगायत अन्य विभूतिले भाषा तथा संस्कृतिको विकासमा दिएको योगदान बिर्सन नहुने बताउनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय सिने स्टार गोविन्दाको नाम लिनेहरु कार्यक्रममा बढी देखिएको तर हाम्रै देशमा रहेका कलाकारलाई बिर्सिने गरेको बताउँदै निर्माताले चलचित्र बनाउँदा समाजले मागेको कथावस्तु दिन सक्नुपर्छ भन्नुभयो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियालगायतले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.