बन्दना र रोशनलाई उपाधि

कास्की, १२ साउन : राष्ट्रिय खुला एकल लोक नृत्य प्रतियोगिताको उपाधि महिलातर्फ गण्डकी प्रदेशकी बन्दना घर्तीमगर तथा पुरुषतर्फ कर्णाली प्रदेशका रोशन घर्ती मगरले जित्नुभएको छ ।

लोकस्रष्टा कल्याण शेरचनको स्मृतिमा ‘कल्याण शेरचन स्मृति प्रतिष्ठान र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)’को संयुक्त आयोजनामा आज पोखरामा सम्पन्न प्रतियोगिताको उपाधि विजेताले जनही रु एक लाख एक हजार १११ पुरस्कार प्राप्त गर्नुभयो । दुवै जनाले एक वर्षका लागि राष्ट्रिय नाचघरमा रोजगारीको अवसर स्रोत प्राप्त गर्नुभएको छ ।

प्रतियोगितामा महिलातर्फ प्रदेश ५ की अंशु कुँवर र पुरुषतर्फ प्रदेश १ का प्रितम सम्बाहाम्फे दोस्रो भई जनही रु ५० हजार ५१५ तथा महिलातर्फ प्रदेश ३ की रविता मगर र पुरुषतर्फ प्रदेश ५ का दिलबहादुर सुनार तेस्रो हुनुभयो । उहाँहरुले जनही रु २५ हजार ५१५ पुरस्कार प्राप्त गर्नुभयो ।

महिलातर्फ कर्णालीकी विपना मन्दिर मगर र पुरुषतर्फ गण्डकीका हिराबहादुर गुरुङले सान्त्वना पुरस्कार पाउनुभयो । दुवै जनाले जनही रु १५ हजार ५१५ पुरस्कार प्राप्त गर्नुभयो ।

नृत्य निर्देशकद्वय सनबहादुर गुरुङ र अनन्तराज तिमिल्सेना उत्कृष्ट नृत्य निर्देशक घोषित भई जनही रु २५ हजार ५१५ पुरस्कार प्राप्त गरे ।

विजेतालाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, वरिष्ठ संस्कृतिकर्मी चेतन कार्की, कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ, प्रमुख संरक्षक सर्मिला शेरचन, संरक्षक नरबहादुर शेरचनलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

सो अवसरमा नृत्यमा विशेष योगदान पु¥याउनुभएका विराटनगरको कटारीका वरिष्ठ लोक नृत्यकार प्रेमलाल परियारलाई रु २५ हजारसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.