६५ बिघामा वाटरपार्क निर्माण गरिँदै

नेपालगञ्ज, २० साउन : शहरवासीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा ‘वाटरपार्क’ निर्माणको काम शुरु भएको छ ।

रु ७० करोडको लागतमा वाटरपार्क निर्माण थालिएको हो । निर्माण चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको नेपालगञ्ज नगरविकास समितिका अध्यक्ष गोपाल पुनले बताउनुभयो । वाटरपार्कको कूल क्षेत्रफल ६५ बिघा रहेकामा १० बिघामा तालले ओगटेको छ ।

“ताल क्षेत्रलाई नौका बिहार र पौडी पोखरीका रुपमा विस्तार गरिने छ,” पुनले भन्नुभयो, “उद्यानमा आकर्षक र मनमोहक फूलबारी, बाल उद्यानलगायत संरचना निर्माण गरिनेछ ।”

वाटरपार्क निर्माणबाट नेपालगञ्जको विकासमा टेवा पुग्ने नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजाल बताउनुहुन्छ । “वाटरपार्कले धम्बोझी टोलको स्वरुप फेरिन्छ, व्यापारीक गतिविधि बढ्नुका साथै यहाँका बासिन्दाको जीवनस्तर नै फेरिन्छ,” उहाँले भन्नुभयो ।

नेपालगञ्ज नगर विकास समितिले वाटरपार्क क्षेत्रभित्र ६ देखि १८ मिटरसम्मको पक्की सडक निर्माण गर्नेछ । नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलरिया सडकलाई उक्त उद्यानसँग जोडिने छ । वाटरपार्क निर्माणको योजना दस वर्षअघि तयार गरिएको हो । जग्गा अधिग्रहणको विवादपछि निर्माण कार्य अगाडी बढ्न सकेको थिएन ।

अहिले पर्खाल, पैदलमार्ग र ग्रिनबेल्ट निर्माण भइरहेको छ । आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न, विकासको आधार बलियो बनाउन र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पु¥याउन वाटरपार्क निर्माण जरुरी भएको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.