ठगीको आरोप लागेपछि सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलद्वारा राजीनामा

अत्तरिया, २४ कात्तिक : पौने १६ करोड कीर्ते अभियोग लागेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिनुभएको छ ।

राज्यमन्त्री रावलमाथि कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योति क्याम्पसको शेयर बिक्री प्रकरणमा ठगी गरेको आरोप लागेको थियो । उहाँले नैतिकताका आधारमा राजीनामा दिनुभएको हो । राज्यमन्त्री रावलले आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाउनुभएको हो । “म माथि लगाइएको आरोपको निष्पक्ष र सत्यतथ्य छानबिन होस् । छानबिनमा मेरो पूर्ण सहयोग रहने छ, न्याय स्थापित होस् भन्ने मान्यताले राजीनामा दिएको हुँ” राज्यमन्त्री रावलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता मानिएका रावलविरुद्ध उनकै पार्टीका स्थानीय नेतासहितका १० जनाले ठगीको उजुरी दिएका थिए ।

रावलसहित ३६ जनाविरुद्धको उजुरीमा प्रहरीले करिब १ वर्ष लगाएर अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरले गत भदौमा रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा अभियोग पत्र दायर गरेको थियो ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य रावल २०७५ असोज २३ गते प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.