महिला अधिकारका परिवर्तित सवालहरु
भवानी पौडेल । काठमाडौँ, १९ फागुन : “नारी पैदा हुँदैनन्, समाजले नारी जन्माउँछ ।” सुप्रसिद्ध फ्रान्सेली लेखिका सिमोन द बोउबारको यो चर्चित भनाइभित्र गहिरो अर्थ लुकेको छ । सृष्टिको निरन्तरताका लागि संरचनागत रुपमा केही अङ्गहरुको जोड घटाउ बाहेक प्रकृतिले नारी र पुरुषलाई समान रुपमा जन्म दिएको हुन्छ । प्रकृतिले नारी र पुरुषलाई कहिँ कतै अन्याय गरेको छैन । अन्याय गरेको छ हाम्रो सोँच, हाम्रो मनोविज्ञान र हाम्रो समाजले । आजसम्म आइपुग्दा पनि विश्वका १८७ देशमध्ये जम्माजम्मी ६ देश (बेल्जियम, डेनमार्क, फ्रान्स, लाट्भिया, लक्जम्बर्ग र स्वीडेन)मा मात्र महिला र पुरुष बिच समानता कायम रहेको तथ्याङ्क विश्व बैङ्कको “विमिन, बिजनेश ल”को प्रतिवेदनमा देखिएको छ । विश्वव्यापी रुपमा महिलाहरुले पुरुषको तुलनामा ७५ प्रतिशत मात्र अधिकारको उपभोग गर्न पाएका छन् । अधिकारको उपभोग गर्ने देशहरुको पुछारमा साउदी अरेबियाको नाम आउँछ, जहाँ महिलाहरुले २५.६ प्रतिशत मात्र समानताको अधिकार पाएका छन् ।
माथिको तथ्याङ्कले एउटा कहालीलाग्दो तस्विर हाम्रो अगाडि आउँछ । मानव इतिहासको यति लामो काल गुज्रिदासम्म पनि आखिर किन महिला र पुरुष बीचको असमानता यति गहिरो छ? किन राज्यका संरचनाहरु महिलामैत्री बन्न सकिरहेका छैनन? किन मानव जातिको आधा हिस्सामाथि अन्यायका तरवारहरु निरन्तर बज्रिरहेछन्? यो एउटा ठूलो बहसको विषय बन्नु पर्छ ।
विश्वव्यापी रुपमा देखा परेको विभेदको यो अग्लो पर्खाल बहुआयामिक छ, जसलाई विभिन्न देशमा, विभिन्न रुपबाट देख्न सकिन्छ । आफूलाई विश्वको ठूलो प्रजातान्त्रिक मुलुक मान्ने भारतको गुजरातस्थित एउटा छात्राबासमा बस्ने विद्यार्थीहरुले महिनावारी नभएको प्रमाणित गर्न आफूहरुलाई महिला शिक्षिकाहरुको अगाडि भित्री बस्त्र फुकाल्न बाध्य पारिएको एउटा घटना भर्खरै सार्वजनिक भएको छ । श्री सहजानन्द गल्र्स इन्स्टिच्युट(एसएसजीआई) मा अध्ययनरत छात्राहरुलाई त्यसो गर्न लगाइएको थियो । एसएसजीआइ भारतको एउटा सम्पन्न र अनुदारवादी हिन्दु धार्मिक समूह स्वामीनारायणद्वारा सञ्चालित कलेज हो । महिनावारीको विषयलाई लिएर व्यापक भेदभाव हुने भारतमा विभेदको लामो शृङ्खलाहरु मध्ये यो एउटा कडी मात्र हो । अब प्रश्न उठ्छ, आफ्नो जिन्दगीको सुन्दर महल निर्माण गर्ने सपना बोकेर आएका, यौवनको हरियो जिन्दगी बोकेका ती अठ्सठ्ठी जना छात्राहरुको मनोदशा कुन उचाइबाट गिरे होला? त्यो हीनताबोधले जन्माएको मनोविज्ञानको हिसाब किताब कसले गर्ने? उनीहरुमा पैदा हुने हीनताबोधको तरवारले कति सम्भावनाको मृत्यु भए होला त्यसको क्षतिपूर्ति कसले गर्ने? यस्ता घटनाहरुले आधुनिक किशोरीहरुको मनमा गहिरो मनोवैज्ञानिक आघात पु¥याइरहेका हुन्छन् र ती पलाउँदै गरेका कलिला मुनाका जराहरुमा मन्द विषको काम गरेका हुन्छन् जसलाई हामीले नजरअन्दाज गरिरहेका हुन्छौँ ।
महिनावारी सम्बन्धी नियम हाम्रो मुलुकमा कस्तो छ भन्ने कुरा हेर्न त छाउ गोठ सम्झिए पुग्छ । जुन समयमा पोसिलो खाना, आरामदायी स्थान र आरामको आवश्यकता पर्ने हो, त्यही समयमा महिलाहरुलाई ती सबै चिजको उपभोगबाट बर्जित गराइन्छ र घाम नलाग्ने एउटा अँध्यारो कोठामा बस्न बाध्य पारिन्छ । महिनावारी जो प्रकृतिको नियमित प्रक्रिया हो, सिर्जनाशक्ति हो, त्यसलाई हेर्ने सवालमा समेत हाम्रो समाज अझ धेरै पछाडि छ । समाजमा हुने यस्तो खालका विभेदलाई धर्मको जामा लगाइदिएर धर्मकै आडमा मनोवैज्ञानिक शोषण गर्न खोजिन्छ जबकी हाम्रा हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारतजस्ता ग्रन्थहरुले महिलाहरुमाथि हुने यस खालका विभेदलाई कहिँ पनि प्रश्रय दिएको पाइँदैन र छ भने पनि समाज विकासको प्रक्रियामा लागेको यो मानव जातिले हजारौँ वर्ष अगाडि लेखिएका सबै विषयलाई हुबहु अपनाउनु पर्ने कुनै कारण देखिन्न । समाजमा सूक्ष्म रुपमा देखिने यस्ता कैयौँ विभेदहरु छन् जसलाई हामीले सामान्य रुपमा लिन्छौँ तर यिनै साना साना कुराहरुले भाइरसको काम गरेका हुन्छन् र समाजलाई विषाक्त एवं रोगी बनाइदिन्छन् ।
जिन्दगीको पखेटा भर्खरै फिजाउँदै गरेकी मेरी ९ वर्षीय छोरीले एकदिन मलाई भनिन्, “मम्मी मैले त बिहे गर्दिन । बिहे ग¥यो भने श्रीमानले जे भन्यो त्यो मान्नुपर्छ । म त आफ्नो इच्छामा चल्ने हो ।” भर्खरै विकसित हुँदै गरेको त्यो कलिलो दिमागमा उनलाई नारी हुनुको भाव कसरी आयो ? हामी चाहन्थ्यौँ उनले आफूलाई एउटा मानवको रुपमा मात्र हेरुन् तर उनले त आफूलाई नारीको भूमिकामा देख्न सुरु गरिन् किन? प्रश्न यहीँनिर छ । हाम्रो दिमाग भौतिक परिवेशको उपज हो । हाम्रो सोँच, विचार र दृष्टिकोण हाम्रो वरिपरिको वातावरण, हामीले पढ्ने पुस्तक, हामीले हेर्ने दृश्य सामग्रीहरु, सुन्ने श्रब्य सामग्रीहरु र मानिसले गर्ने व्यवहारबाट निर्धारित हुन्छ । हाम्रो सोँच हामीले प्राप्त गरेको संस्कार, संस्कृतिबाट निर्धारित हुन्छ । उनले फिल्म हेर्दा अधिकांश फिल्ममा नायकको हस्तक्षेपकारी भूमिका देख्छिन् ।
विद्यालयमा समेत फुटबल बास्केटबल जस्ता खेलहरुमा छात्रहरु मात्र सामेल भएको देख्छिन् । मञ्चमा भाषण गरेको देख्दा पुरुषहरुकै वर्चस्व देख्छिन् । धेरै मञ्चहरु त महिलाविहीन भएर महिलाको ताली मात्र पाएर सकिन्छन् । घरमा महिलाहरु अधिकांश समय घर धन्दा, भान्सामा बिताएको देख्छिन् । यस अवस्थामा उनले महिला र पुरुषले गर्ने काम, भूमिका फरक रहेछ भन्ने कुरा बुझिन् र आफूलाई पनि महिलाको मानकभित्र राखेर हेर्न थालिन् । उनले आफूलाई महिला भएकोमा गर्वको अनुभूत गर्न सक्दिनन् र एउटा निष्कर्षमा पुग्छिन् “मैले अब बिहे गर्दिन ।” मानव मस्तिष्कका आजसम्मका सारा प्रयत्नहरु मानव जीवनलाई सुखी, समुन्नत र समृद्ध बनाउने दिशामा अग्रसर छन् र मानवका सारा प्रयासहरुको अभीष्ट पनि त्यही नै हो । तर मानव जातिको एउटा सिङ्गो वर्ग दुःखी हुँदा, अन्यायमा पर्दा सिङ्गो मानव जाति कसरी खुसी र आनन्दित बन्न सक्छ? यो एउटा अहम् सवाल हो । यसमा ब्यापक छलफल बहसको जरुरत छ ।
हामी कहाँ छौँ ? हाम्रो समाजको चेतनास्तर कहाँ छ भन्ने कुरा हेर्न धेरै टाढा जानु पर्दैन, सबैले आफ्नै परिवारलाई हेर्दा पुग्छ । मेरा कैयौँ महिला शिक्षक साथीहरु विद्यालयबाट फर्केपछि पूरै घरायसी जिम्मेवारी सम्हाल्नु पर्ने दुखेसो सुनाउनुहुन्छ । समान काम गरेर, समान आर्थिक योगदान गर्ने महिलाको हकमा पनि कार्यालयबाट आइसकेपछि भात भान्सा, बालबच्चा महिलाकै भागमा पर्छ भने पुरुषको भागमा फुर्सद पर्छ । सर्सती हेर्दा यस्ता घटनाहरु सामान्य लाग्छन् तर असमानता यस्तै यस्तै अनेकौँ बिन्दुबाट सुरु हुन्छ । जीवनको सबैभन्दा महत्वपूर्ण वस्तु केही छ भने त्यो समय हो । महिलाको त्यही मूल्यवान समय पुरुषवादी प्रभुत्वले चोरी गरेको छ । मानिसले अध्ययन, लेखन, व्यक्तित्व विकासका सारा कामहरु समय पाएमा नै गर्न सक्छ तर महिलाको भागमा फुर्सदको समय ज्यादै कम छ । समय बदलियो, शासन बदलियो, कानुन बदलियो, भूमिका बदलियो तर शताब्दीयौँ अगाडिदेखिको सोँच बदलिएन त्यसैको परिणाम स्वरुप हिँजो महिलाहरुलाई दिएको साँघुरो र झञ्झटिलो जिम्मेवारी आज पनि पूरै महिलाले गर्नुपर्छ भन्ने सोँच छ । महिलाले आर्थिक योगदान गर्दा पनि घरायसी जिम्मेवारिमा परिवर्तन हुन सकेन । सामाजिक सोँचको कदम एकदमै मन्द गतिले अगाडि बढेको छ ।
नेपालको संविधान (२०७२) ले महिलाहरुलाई विशेष अधिकार प्रदान गरेको छ । संविधानको धारा (३८) को उपधारा १ मा लेखिएको छ : “प्रत्येक महिलालाई लैङ्गिक भेदभाव विना समान बंशीय हक हुनेछ ।” त्यसै गरी राज्यका सबै निकायमा महिलाहरुलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हकको व्यवस्था पनि संविधानमा उल्लेख छ । संविधानले महिलाका समस्याहरुलाई हेर्ने छुट्टै संवैधानिक महिला आयोगको पनि गठन गरेको छ । राज्यका महत्वपूर्ण पदहरुमा प्रमुख र उपप्रमुख फरक फरक लिङ्गको हुनु पर्ने व्यवस्था संविधानले गरेको छ जसले गर्दा राज्यका महत्वपूर्ण निकायहरुमा महिलाहरुको सहभागितामा बृद्धि भएको छ । यो निकै स्वागतयोग्य कुरा हो । निश्चय नै जन्मजात रुपमा कोही पनि सिकेर आएको हुँदैन, उपयुक्त अवसर र वातावरणले नै मानिसलाई सिक्न उत्प्रेरित गर्छ र सिकाइ हुन्छ । तर एउटा यथार्थ के हो भने राज्यका विभिन्न निकायमा महिलाहरुको उपस्थितिको सापेक्षतामा महिला हक, हित, अधिकारका सवालमा जति काम हुनु पर्ने हो त्यो हुन सकिरहेको छैन । हामीले अझै आफ्नो क्षमतालाई उचो बनाउनु पर्ने आवश्यकता छ । कुनै पनि ठाउँमा अङ्क गणितीय हिसाबले कति महिलाहरुले पद पाए भन्दा पनि कति महिलाहरु आफ्नो पदीय दायित्व सफलतापूर्वक निर्वाह गर्न सफल भए? कतिले महिला हक, हितको सवालमा हस्तक्षेपकारी भूमिका खेल्न सके? कति आफ्नो क्षमता विकास गर्न सफल रहे भन्ने कुराले ठूलो अर्थ र महत्व राख्छ । पुरुषप्रधान सोँचले समान क्षमतामा रहेका महिला पुरुषमध्ये अवसर दिने सवालमा पुरुषलाई नै छनोट गर्छ ।
यसरी यस परिस्थितिमा महिलाहरु अझ बढी सशक्त भएर अगाडि आउनु पर्ने आवश्यकता छ । क्रान्ति, परिवर्तनको आवश्यकता त्यो वर्गलाई अझ बढी हुन्छ जुन वर्ग समाजमा पछाडि छ । महिलाको सवालमा पनि यही कुरा लागु हुन्छ । आम रुपमा पछाडि पारिएको महिला वर्गको लागि आफूलाई अझ बढी सक्षम बनाउनु पर्ने, शिक्षित र चेतनशील बनाउनुपर्ने दायित्व अझै बढेको छ । समाज परिवर्तनका लागि कानुन परिवर्तन भएर मात्र पुग्दैन, कानुनको अर्थपूर्ण कार्यान्वयनका लागि राजनैतिक नेतृत्वमा दृढ इच्छाशक्ति हुनुपर्छ र परिवर्तनको सुरुआत हरेक परिवारका हरेक व्यक्तिबाट गरिनुपर्छ । महिलालाई पछाडि पारिनु महिलाको निम्ति मात्र बाधक होइन, यो त एउटा सिङ्गो मानव समुदाय, समाज र विश्वका लागि पनि बिडम्बना हो र संसारले यसको महङ्गो मूल्य चुक्ता गरिरहेछ । समाज परिवर्तनको चाबी हाम्रो सोँचमा छ, हाम्रो विचारमा छ र हाम्रो व्यवहारमा छ । उज्यालो समाज निर्माण गर्ने दायित्व हामी सबैको काँधमा छ ।
[email protected]
लेखक पौडेल रत्नराज्य मावि, रामकोटमा अध्यापनरत हुनुहुन्छ ।
