हरितालिका तीज र पूजाविधि

आलिभिः सखिभिः हरिता इति हरितालिका।
अथवा
सखिभिर्हरिता यस्मात् तेनेयं हरितालिका।

हरितालिकाको लोकप्रसिद्ध नाम तीज हो। यो विशेषगरी नारीहरूले मनाउने सनातन पर्व हो। धार्मिक रूपमा तीज अन्तर्गत उमामहेश्वरको पूजा गरी निराहार व्रत बस्ने र भोलिपल्ट व्रतको पारणा गरेर भोजन गर्नेसम्मका कृत्यहरू पर्दछन्। तीजमा निराहार व्रत बसी पार्वतीसहित भगवान् शिवको पूजा–आराधना गर्ने विधान छ। यसका साथै तीजमा दरका रूपमा विशेष खानपान, नाचगान र मनोरञ्जन समेत गरिन्छ। यो पर्व नेपाल, भारतलगायत हिन्दुहरूको बसोबास भएका अन्य मुलुकमा समेत मनाइन्छ। तीजमा मीठामीठा परिकार आफैंले पकाएर आफन्तहरूलाई बोलाएर आफ्नै मिहिनेतको फल खाने र खुवाउने चलन छ। यस्तै नयाँ कपडा तथा गरगहना जोरजाम गर्ने पर्वका रूपमा पनि तीज अगाडि रहेको छ।

नेपाली समाजमा परापूर्वकालदेखि नै तीजलाई महत्त्वपूर्ण पर्वका रूपमा लिने गरेको पाइन्छ। बाल्यकालमै विवाह भएर टाढा पुगेका छोरी–चेली–भान्जीहरूलाई घरसम्मै माइती लिन जाने, माइतमा एकसाथ भेला हुने, रमाइलो भेटघाटबीच मीठो एवं स्वादिष्ट दर खाने, व्रत बसी सामूहिक पूजा लगाउने र नाचगानका माध्यमले आफ्ना दुःखसुखका पीरमर्का व्यक्त गर्ने अवसर तीजले नै जुटाउँथ्यो। यस अवसरमा माइती समाजमै दिदीबहिनीहरूले आफ्नो घरतर्फ सासूससुरा, देउरानी–जेठानी, नन्द–आमाजू र पतिले दिएका पीडा र कुण्ठाहरूलाई उन्मुक्त कण्ठले पोख्न पाउँथे। यसर्थ तीजमा खासगरी पराई घरमा दुःख पाएका घटनाहरूको इतिवृत्तान्त व्यक्त गरी आमाबुबाको सहानुभूति र माया प्राप्त गर्ने भावका गीतहरू गाउने चलन अद्यापि छँदै छ।

यस पर्वलाई पतिपत्नीबीचको सम्बन्ध प्रगाढ बनाउने, आपसी सहयोगको भाव प्रत्यक्षरूपमा व्यक्त गर्ने, उमामहेश्वरको पूजाद्वारा पतिपत्नी एक–अर्काका पूरक भएको प्रमाणित गर्ने, ईश्वर–उपासनाद्वारा इच्छाएको फल प्राप्त गर्ने जस्ता अनेकौं प्रेरणाहरू तीज पर्वबाट प्राप्त गर्न सकिन्छ। पतिपत्नीबाट अलि माथि उठेर हेर्दा सामाजिक पक्षसँग यो पर्व जोडिन पुग्छ। घरमा सासू–बुहारी र नन्द–भाउजूबीचको सम्बन्ध पनि तीतो नभएर मीठो एवं प्रगाढ नै हुनुपर्छ।

आपसमा घरभित्रका व्यावहारिक विषयलाई बाहिर लैजाँदा वास्तवमा आफ्नै घरको बेइज्जत हुने र बाहिरी मानिसले घरायसी मनमुटावलाई जोड्न सक्ने हुँदा यसतर्फ सचेत गराउन माइती पक्षका अभिभावकले ठूलो भूमिका निर्वाह गरेका हुन्छन्। पारिवारिक द्वेष हुनबाट विमुख गराउने शिक्षा पनि यस पर्वबाट प्राप्त गर्न सकिन्छ। यसभन्दा पर गएर हाम्रो घरमा आश्रित व्यक्तिहरूलाई जोड्ने प्रयत्न गर्नु र नन्दआमाजू, फुपूदिदी र हजुरदिदीहरूलाई, सानीमा, ठूल्यामा एवं वरपरसम्मका इष्टमित्र र आफन्तहरूलाई बोलाएर उदारभावका साथ खानपान तथा रमाइलोले भेटघाट भए जति सबैको मन प्रसन्न भई आत्मीयपनको विकास हुनुले व्यावहारिक पक्षमा पनि एक–आपसमा सहयोग एवं सहकार्यको भावना जागृत हुन्छ।

वर्तमान समयमा खासगरी सहरबजारमा तीज भद्दा र खर्चिलो पर्वको रूपमा देखापर्न थालेको छ। महिनौंअघिदेखि दर खानेदेखि व्यावसायिक गीतका क्यासेट निकाल्ने होड चलेको पाइन्छ। तीजको मौलिक पक्षलाई कुल्चँदै व्यावसायिक र छाडा प्रवृत्तिका गीत गाउने, फेसनका कपडा र गरगहना देखाउने, लोकाचारका लागि पूजा लगाउने र दरका नाउँमा महिनौंअघिदेखि सार्वजनिक रूपमा गरिने सामूहिक खानपानको आयोजनाले तीजमा विकृति निम्त्याएको पाइन्छ। यस्ता विकृतिहरूबाट सजग रहँदै तीजको मौलिकतालाई संरक्षण गर्नु सबैको कर्तव्य हुन आउँछ।

धार्मिक पक्ष र पूजाविधि

भाद्र शुक्लपक्षको तृतीया तिथिमा पार्वतीले भगवान् शिवजीलाई पति पाऊँ भनी गरेको व्रतबाट तीजको परम्परा चलेको पाइन्छ। जब पार्वतीको चिन्तन, ध्यान, पूजा, उपासना, जप, तप सम्पूर्ण महादेवमा केन्द्रित थियो, उसबेला नारदको याचनाअनुसार पिता पर्वतराज हिमालयले भगवान् विष्णुसँग उनको विवाह निश्चय गर्दछन्।

वासुदेव स्वयं देवः कन्यां प्रार्थयते यदि।
तदा मया प्रदातव्या त्वदागमनगौरवात्।।

पिताजीले आफ्नो इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिने निश्चय गरेको थाहा पाएपछि पार्वतीलाई असह्य पीडा भयो। उनले आफ्नो वेदना सखीहरूलाई सुनाइन्। सखीहरूले पार्वतीलाई लुकाउने सल्लाह गरे र भगाएर जंगलमा पुर्याए। पार्वती हराएको सूचनाले पर्वतराजको दरबारमा भने हाहाकार भयो। यसरी सखीहरूले हरण गरेर लुकाएको अवस्थामा पार्वतीले आशुतोष भगवान् शिवजीको तपस्या गरिन्। उनले बालुवाको शिवलिंग बनाई पूजा गरिन् र ॐ नमः शिवाय मन्त्रद्वारा भगवान् शिवजीलाई प्रसन्न गराई वरदानस्वरूप उनै भगवानलाई पतिरूपमा प्राप्त गरिन्। यसप्रकार पार्वतीले सिद्ध गरेको पूजालाई हरितालिका पूजा भन्न थालिएको हो।

तीज अर्थात् हरितालिकामा दीप–कलश–गणेश पूजनपूर्वक शिवपार्वतीको एकसाथ पूजा गर्ने विधान छ। प्रतिष्ठित शिवलिंग अथवा नवनिर्मित धातु, शिला आदिको वा बालुवाको शिवलिंग तथा शिवपार्वतीका प्रतिमा अथवा तस्बिर समेत राखी पूजा गर्न सकिन्छ। प्रतिमा अथवा शिवलिंग नयाँ भए प्राणप्रतिष्ठा गरेर र नित्य पूजा गरिरहेको भए ध्यान गरेर पूजा आरम्भ गर्नुपर्दछ।

हरितालिकाको संक्षिप्त पूजा विधि

उमामहेश्वरको ध्यान गर्ने मन्त्र–
मन्दारमाला–कुलितालकायै
कपाल–मालाङ्कितशेखराय।
दिव्याम्बरायै च दिगम्बराय
नमः शिवायै च नमः शिवाय।।

षोडषोपचार पूजा–
ध्यानं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
आवाहनं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
आसनं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
पाद्यं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
अर्घ्यं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
आचमनीयं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
पञ्चामृतं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
शुद्धोदकं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
वस्त्रं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
यज्ञोपवीतं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
उपवस्त्रं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
वस्त्रयज्ञोपवीतान्ते आचमनीयं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
चन्दनं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
श्वेताक्षताः समर्पयामि, उमामहेश्वराभ्यां नमः।
पुष्पमालां समर्पयामि, उमामहेश्वराभ्यां नमः।
विल्वपत्राणि समर्पयामि, उमामहेश्वराभ्यां नमः।
पार्वतीप्रीतये सौभाग्यद्रव्याणि सिन्दूरञ्च समर्पयामि, उमामहेश्वराभ्यां नमः।

अङ्गपूजा–
ॐ शङ्कराय नमः, पादौ पूजयामि।
ॐ महेश्वराय नमः, जङ्घे पूजयामि।
ॐ शम्भवे नमः, जानुनी पूजयामि।
ॐ भूतेशाय नमः, उरू पूजयामि।
ॐ नीललोहिताय नमः, कटिं पूजयामि।
ॐ उग्राय नमः, नाभिं पूजयामि।
ॐ कृशानुरेतसे नमः, उदरं पूजयामि।
ॐ हराय नमः, स्तनौ पूजयामि।
ॐ नीलकण्ठाय नमः, कण्ठं पूजयामि।
ॐ शिवाय नमः, मुखं पूजयामि।
ॐ त्रिनेत्राय नमः, नेत्रे पूजयामि।
ॐ रुद्राय नमः, कर्णौ पूजयामि।
ॐ ललाटाक्षाय नमः, ललाटं पूजयामि।
ॐ शर्वाय नमः, शिरः पूजयामि।
ॐ शम्भवे नमः, सर्वाङ्गं पूजयामि।

नामपूजा–
ॐ उमायै नमः। ॐ गौर्यै नमः।
ॐ पार्वत्यै नमः। ॐ जगद्धात्र्यै नमः।
ॐ जगत्प्रतिष्ठायै नमः। ॐ शान्तिरूपिण्यै नमः।
ॐ हराय नमः। ॐ महेश्वराय नमः।
ॐ शम्भवे नमः। ॐ शूलपाणये नमः।
ॐ पिनाकधृषे नमः। ॐ शिवाय नमः।
ॐ पशुपतये नमः। ॐ महादेवाय नमः।

यसपछि–
धूपं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
दीपं दर्शयामि, उमामहेश्वराभ्यां नमः।
नैवेद्यं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
नैवेद्यान्ते आचमनीयं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
फलं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
ताम्बूलं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
दक्षिणाद्रव्यं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
आभूषणं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
नीराजनं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
कर्पूरार्तिक्यं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
पुष्पाञ्जलिं समर्पयामि, उमामहेश्वराभ्यां नमः।
प्रदक्षिणां समर्पयामि, उमामहेश्वराभ्यां नमः।
नमस्कारान् समर्पयामि, उमामहेश्वराभ्यां नमः।
प्रार्थना समर्पयामि, उमामहेश्वराभ्यां नमः।
क्षमापनं समर्पयामि, उमामहेश्वराभ्यां नमः।

यति विधि गरेर भोलिपल्ट बिहान उत्तराङ्गपूजा गरी पूर्णपात्रदान गरेर व्रतपारणा गर्नुपर्दछ।
यस क्रममा लोपामुद्रा र अगस्ति ऋषिको पूजा गरी अर्घ्य दिएर उमामहेश्वरलाई पनि अर्घ्य दिनुपर्छ।

उमामहेश्वरलाई अर्घ्य दिने मन्त्र–
श्रीपार्वती महाभागे शङ्करप्रियवादिनि।
अर्घ्यं गृहाण कल्याणि भर्त्रा सह पतिव्रते।।
श्री उमामहेश्वराभ्यां नमः अर्घ्यं निवेदयामि।

व्रतपारणा गर्ने मन्त्र–
उपवासो व्रतं चैव दानं तीर्थं जपं तपः।
विप्रैः सम्भाषितं यद्यत्तत्सर्वं सफलं भवेत्।।

नोट– व्रत र पारणाको सम्पूर्ण विधिका लागि व्रतराज आदि धर्मशास्त्रीय पुस्तकबाट सहयोग लिन सकिन्छ। तीजको भोलिपल्ट गणेश चतुर्थी पर्ने हुनाले गणेशको पनि यथाविधि पूजन, दर्शन, आराधना, दूर्वाङकुर अर्पण आदि गर्नुपर्दछ ।

साभार : नेपाली पात्रो

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal