काग तिहार

यमपञ्चक लागेपछि भगवान् सूर्यका पुत्र एवं मृत्युका देवता यमराज यमलोकबाट बहिनी यमुनाको घर मर्त्यलोकमा आएर यमपञ्चकभरि विराजमान भई भाइटीका लगाएपछि यमलोक फर्कने पौराणिक आख्यान रहेको छ। यमपञ्चकको प्रारम्भमा आफू पृथ्वीलोकमा आउन लागेको संकेत दिन यमराजले आफ्ना दूत कागलाई पठाउने गर्दछन्। यमराजका दाजु शनिदेवको वाहन समेत रहेका कागलाई यमराजको विशेष दूत मानिन्छ। यसर्थ यमदूतका रूपमा बिहानै कागको पूजा गर्ने गरिन्छ। वर्षभरि मानिसको वरिपरि घुमिरहने कागलाई यस दिन टाढैबाट वा प्रतीकात्मक पूजा गरी कागलाई मन पर्ने माछा, मासुसँग भात वा अन्य मीठा खानेकुरा (काकबलि) दिएर हे महामति यमदूत काग, हामीले दिएको खानेकुरा ग्रहण गरी प्रसन्न होऊ र यमदण्डरूपी संकटबाट मुक्ति दिलाऊ भनी प्रार्थना गर्नुपर्दछ।

काकोSसि यमदूतोSसि वायसोSसि महामते ।
इमं बलिं गृहाण त्वं त्रायस्व यमसङ्कटात् ।।

यसरी विशेष पूजा तथा काकबलिद्वारा कागलाई प्रसन्न पारिने दिन भएकाले तिहारको प्रारम्भिक दिनलाई कागतिहार भन्ने गरिन्छ। कागतिहारमा कागको पूजा गरी खानेकुरा दिनाले मृत्युपछि यमलोक जानुपर्दैन भन्ने धार्मिक विश्वास रहेको छ।

यमदीपदान
कागतिहार अर्थात् कार्तिक कृष्णपक्ष, त्रयोदशीको साँझ यमराजको आगमन हुने हुँदा दीपावली गरी यमराजलाई स्वागत गर्नुपर्दछ। यस विधानलाई व्यवहारमा यमदीपदान भन्ने गरिन्छ। धर्मशास्त्रहरूमा उद्धरण गरिएको स्कन्दपुराणको वचनअनुसार कार्तिक कृष्णपक्ष, त्रयोदशी तिथिमा रात पर्न लागेपछि घरको मूल दैलोभन्दा बाहिरपट्टि यमराजलाई दीपदान गर्नुपर्दछ। यसरी दीपदान गरेर उनलाई घरभित्र नपस्न र कसैलाई दुःखकष्ट नपुर्याउन अनुरोध गरिन्छ। यस क्रममा मेरो परिवारमा सबैको दीर्घायुष्य, आरोग्य, ऐश्वर्य एवं सुखसमृद्धि प्राप्ति र दुर्घटना, अपमृत्युजस्ता संकट निवारण होस् भन्ने कामना सिद्ध गर्ने उद्देश्यले यमराजको प्रसन्नताका लागि यमराजलाई दीपदान गर्दछु भनी विधिपूर्वक संकल्प उच्चारण गरेर दियो बाल्नुपर्छ। दियो बालेपछि चन्दन, अक्षता र फूल हातमा लिएर ध्यान गरी ‘यमाय पाशहस्ताय महिषारूढाय कृष्णवर्णाय नमः’ भनी नमस्कार गरेर यस मन्त्रले दीपदान ग्रहणका लागि यमराजलाई प्रार्थना गर्नुपर्दछ।

मृत्युः पाशधरः कृष्णः कालो दण्डधरो महान् ।
तुष्टोSस्तु दीपदानेन त्रयोदश्यां स धर्मराट् ।।
मृत्युना पाशदण्डाभ्यां कालेन ह्यामयेन च ।
त्रयोदश्यां दीपदानात् सूर्यजः प्रीतये मम ।।
धर्मराज नमस्तुभ्यं भवान्नुद्धरणक्षमः ।
अज्ञानाज्ज्ञानदोषान् मे क्षमस्व त्वं कृपाकरः ।।

यसपछि चतुर्दशी तिथिको साँझमा पनि यमतर्पण र यमराजलाई चतुर्वर्तीयुक्त दीपदान गर्नुपर्ने शास्त्रवचन रहेको छ। यमदीपदान सिद्धिका लागि ब्राह्मणलाई दक्षिणा दिनुपर्दछ। यमराजलाई दीपदान गर्नाले दुर्घटना र अपमृत्यु नाश हुन्छ। अर्थात् यस कर्मको प्रतीकात्मक अर्थ पारिवारिक सुख र सुस्वास्थ्य नै हो।

धन्वन्तरि जयन्ती
तिहार त्यो पर्व हो, जसमा विभिन्न उपायले स्वस्थ शरीर, धनधान्य र सुख–समृद्धिको कामना सिद्ध गरिन्छ। यसका लागि अनेक देवीदेवताको पूजा–आराधना गर्ने विधान रहेको छ। पौराणिक प्रसंगअनुसार आजकै दिनमा भगवान् विष्णु आयुर्वेदका प्रवर्तक धन्वन्तरिको अवतार लिएर प्रकट हुनुभएको थियो। देवता र असुरद्वारा समुद्रमन्थनका क्रममा हलाहल, कामधेनु, ऐरावत, उच्चैःश्रवा अश्व, अप्सरा, कौस्तुभमणि, वारुणि, महाशंख, कल्पवृक्ष, चन्द्रमा, लक्ष्मी, कदलीवृक्ष आदिको उत्पत्तिपछि अन्त्यमा धन्वन्तरिको प्रादुर्भाव भएको हो। हातमा अमृतले भरिएको सुवर्णकलश लिएर चतुर्भुज धन्वन्तरि प्रकट भएका थिए। अमृत वितरणपछि देवराज इन्द्रको अनुरोधमा देववैद्यको पद स्वीकार गरी स्वर्गमा बस्न थाले। यसर्थ आयुर्वेद अर्थात् औषधिविज्ञानका प्रवर्तक धन्वन्तरिलाई आजकै दिनमा आरोग्यका देवताको रूपमा पूजा गर्ने गरिन्छ।

धनतेरस
कार्तिक कृष्णपक्षको त्रयोदशीलाई धनत्रयोदशी अर्थात् धनतेरस पनि भन्दछन्। यस दिन सुनचाँदीका गरगहना, सिक्का र भाँडाकुँडा तथा काँस, तामा, पित्तल आदिका भाँडाकुँडा किन्ने परम्परा रहेको छ। विशेषगरी लक्ष्मीपूजाका लागि आवश्यक नयाँ भाँडाकुँडा, थालबटुका आदि जोरजाम गर्ने चलन पुरानै रहे पनि परम्पराबाहेक हिजोआज व्यावहारिक उपयोगिताका सामानहरू, मोटर, मोटरसाइकल, फ्रिज, टेलिभिजन, कम्प्युटर, मोबाइल आदि समेत खरिद गर्न यसै दिनलाई पर्खने पनि गरिन्छ। हुनेखानेले विलासिताका वस्तुहरू जोड्छन् भने हुँदा खानेले आफ्नो आवश्यकता पूरा गर्छन्। समग्रमा तिहारको किनमेल गर्ने दिवसका रूपमा धनतेरसलाई लिने गरिन्छ।

साभार: नेपाली पात्रो

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal