अपाङ्गतामैत्री सङ्घसंस्थालाई ‘पहुँचयुक्तता सम्मान’

काठमाडौँ, १४ असोज : राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गर्ने विभिन्न सङ्घसंस्थालाई आज ‘पहुँचयुक्तता सम्मान’ प्रदान गरेको छ ।

महासङ्घले भौतिक संरचना तथा सञ्चार सेवामा पहुँचयुक्तता प्रवद्र्धन एवं सुनिश्चितताका लागि काम गरिरहेका तथा अपाङ्गता भएका व्यक्तिलाई रोजगारीको अवसर प्रदान गर्ने तीन सङ्घसंस्थालाई सो सम्मान दिएको हो ।

महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले होटल हार्दिक बागबजार, चन्द्रागिरि हिल्स प्रालि चन्दागिरि र खेम्स क्लिनिङ कङ्लकीलाई सो सम्मान दिँदै अपाङ्गतामैत्री संरचनाका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हार्दिक होटलका ३४ कोठामध्ये चार कोठा, एक शौचालय र छ सभाकक्षमध्ये तीन ह्विलचेयर प्रयोगकर्ताका लागि सहज भएको होटल सञ्चालक रमेश पाण्डेले जानकारी दिनुभयो । होटल तथा रेष्टुराँमध्ये अपाङ्तामैत्री संरचना भएको होटल हार्दिक पहिलो भएको सञ्चालक पाण्डेको जिकिर छ । त्यसैगरी खेम्स क्लिनिङ कङ्लकीले विमानस्थल, मठमन्दिरलगायत स्थानमा सरसफाइ गर्दै आएको छ ।

चन्द्रागिरि हिल्स प्रालिले दृश्यावलोकनस्तम्भ, भालेश्वर मन्दिर, सभाकक्ष र शौचालयलगायत सम्पूर्ण संरचना अपाङ्तामैत्री बनाएको छ । भर्खरै लागू भएको अपाङ्ता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ मा पनि भवन निर्माण गर्दा अपाङ्तामैत्री हुनुपर्ने भनिएको छ ।

नेपालको पछिल्लो जनगणना २०६८ अनुसार अपाङ्ता भएका व्यक्तिको हिस्सा कूल जनसंख्याको १ दशमलव ९४ प्रतिशत अर्थात् पाँच लाख १३ हजार ३२१ जना छन् । यसमा शारीरिक अपाङ्ता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, न्यूनदृष्टियुक्त १६ दशमलव ५ प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव ४ प्रतिशत छन् ।

त्यसैगरी बोलाइसम्बन्धी अपाङ्ता भएका व्यक्ति ११ दशमलव ५, श्रवण दृष्टिविहीनसम्बन्धी १ दशमलव ८, मानसिक अपाङ्गता ६, बौद्धिक अपाङ्गता २ दशमलव ९ र बहुअपाङ्गता भएका ७ दशमलव ५ प्रतिशत छन् ।

पछिल्लो समय अपाङ्ता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना निर्माण गर्न केही प्रयास भए पनि निर्देशिका जारी भएको ६ वर्ष हुँदासमेत सबै प्रकारका अपाङ्गतता भएका व्यक्तिका आवश्यकतालाई सम्बोधन गर्ने गरी सार्वजनिक शौचालय, बसपार्क, यातायात सेवा र सूचना तथा सञ्चार प्रणाली पहुँचयुक्त बन्न सकेका छैनन् ।

अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण, प्रवद्र्धन र संवद्र्धन गर्ने उद्देश्यले विसं २०५० देखि क्रियाशील महासङ्घमा अपाङ्गता भएका व्यक्तिले सञ्चालन गर्दै आएका ३३१ गैरसरकारी संस्था आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.