संसदीय सुनुवाईः क्याभाना र फोर्डबीच आरोप प्रत्यारोप

वासिङ्टन, १२ असोज : अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका ब्रेट क्याभानाले त्यहाँको सिनेट न्यायिक समितिसमक्ष आफूमाथि लगाइएको यौन आक्रमणको आरोपको कडा प्रतिबाद गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिफारिस गर्नुभएका क्याभानामाथि प्राध्यापक क्रिस्टिन ब्लासी फोर्डले यौनहिंसाको आरोप लगाएसँगै संसदीय समितिमा क्याभाना र फोर्डको घण्टौ लामो सुनुवाई भएको थियो ।

पहिलो सत्रमा फोर्डले समितिमा उपस्थित भएर ३६ वर्षअघि अर्थात् आफू १५ वर्षको हुँदा क्याभाना र उनका साथीले मदिरा सेवन गरी कोठामा थुनेको, कपडा खोलेको, मुख थुनेको र बलात्कार नै गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “त्यसबाट मलाई जीवनभर असर परेको, सुरुका वर्षहरुमा पढाइ बिग्रिएको र कसैलाई भन्न समेत डर लागेको थियो ।”

बोली अबरुद्ध पार्दै आफ्ना कुरा संसद समक्ष राख्नुभएकी प्राध्यापक फोर्डले सांसदहरुको प्रश्नको जवाफ दिँदै भन्नुभयो, “म क्याभानालाई राम्रोसँग चिन्थे, आज पनि चिन्छु । तिनै क्याभानाले मलाई दुव्र्यवहार गरेकोमा म शत प्रतिशत विश्वस्त छु । मैले गल्ती गरेर अर्कै व्यक्तिको नाम लिइरहेको छैन ।”

“म अत्यन्त भयभित छु,” फोर्डले भन्नुभयो, “मेरो जीवनमा भएको यस घटनाका बारेमा जानकारी गराउनु नागरिक कर्तव्य सम्झेर म यहाँ आएकी हुँ ।”

रिपब्लीकन पार्टीका सांसदहरु अहिले क्याभानाको पक्षमा उभिएका छन् भने फोर्डलाई डेमोक्राट पार्टीका सांसदहरुले सहयोग गरिरहेका छन् ।

क्रोध मिश्रित तर निकै भावुक मुद्रामा प्रस्तुत हुनुभएका ब्रेट क्याभानाले फोर्डको आरोपको खण्डन गर्दै भन्नुभयो, “फोर्डले लगाएका आरोपको म समग्र रुपमा खण्डन गर्न चाहन्छु । मैले आजसम्म कसैलाई कहिल्यै यौन आक्रमण गरेकै छैन, स्कुलमा पनि गरिनँ, कलेजमा पनि गरिनँ, र कहिल्यै त्यस्तो गरिनँ ।” “यो आरोप मात्र हो, म पूर्णतः निर्दोष छु,” क्याभानाले भन्नुभयो ।

क्याभानाले आफ्नो चारित्रिक हत्या गर्नेगरी मञ्चन गरिएको हास्यास्पद नाटक रहेको बताउनुभयो । “मेरो परिवार र मेरो नाम क्रुरतापूर्ण र झुटो आरोपबाट तहसनहस भएको छ । यो सुनुवाई प्रक्रिया नै राष्ट्रिय लज्जाको विषय भइसक्यो ।”

क्याभानाले भन्नुभयो, “तर यो प्रक्रियाबाट म मेरो नाम फिर्ता लिन चाहन्न । तपाइँहरुले मतदानबाट बरु मलाई अस्वीकार गर्न सक्नुहुन्छ तर म पछि हट्ने छैन ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याभानाले आफ्नो भनाइ प्रष्ट रुपमा राखेकामा खुशी व्यक्त गर्नुभएको छ । ट्रम्पले क्याभानाको बयान सशक्त, इमान्दार र मन छुने रहेको बताउनुभयो ।

राष्ट्रपति ट्रम्पले डेमोक्रेट पार्टीको एक इमान्दार व्यक्तिमाथि दोषारोपण ठीक नभएको बताउँदै क्याभानाको नियुक्तिमा ढिलाइ गर्न, अबरुद्ध गर्न यो प्रपन्च भइरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सिनेटले जतिसक्दो चाँडो मतदान गरोस् ।”

अमेरिकी सिनेटको न्यायिक समितिमा हाल ११ जना रिपब्लीकन र १० जना डेमोक्राट सदस्य छन् । सिनेटमा समेत रिपब्लीकनको ५१ र डेमोक्रेटको ४९ सिट छ । यद्यपी समितिले यो विषय कहिले टुङ्गो लगाउँछ भन्ने स्पष्ट भएको छैन ।

आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावमा यो संख्यामा फेरबदल हुने सम्भावना रहेकाले पनि डेमोक्रेटहरुले न्यायाधीश सुनुवाइलाई विलम्ब गरिरहेको आरोप छ ।

उनीहरुले फोर्डको आरोपका सम्बन्धमा अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) ले अनुसन्धान गर्नुपर्ने माग गरिआएका छन् ।

अमेरिकी सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीश आजीवन उक्त पदमा रहने भएकाले पनि नियुक्तिमा विवाद हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.