बलात्कारको अभियोगमा तीन जना पक्राउ
भोजपुर, ११ असोज : बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङका १६ वर्षीय सन्देश राई भनिने सविन, भोजपुर नगरपालिका–१ डाँडा बोखिमका २५ वर्षीय मदन राई र हतुवागढी गाउँपालिका–६ माटोखानी टोलका २५ वर्षीय छत्रमान राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, भोजपुरका साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङकी पाँच वर्षीया बालिकालाई असोज ६ गते करणी गरेको अभियोगमा सन्देशलाई पक्राउ गरेको छ । त्यस्तै असोज २ गते १५ वर्षीया बालिकालाई स्थानीय पञ्चमाया राईको कोदोबारीमा लगेर बलात्कार गरेको अभियोगमा मदन राईलाई र असोज २ गते नै स्थानीय ४७ वर्षीया अपाङ्गता भएका महिलालाई बलात्कार गरेको अभियोगमा छत्रमान राईलाई पक्राउ गरेको छ ।
पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिनुभयो ।
जिल्लामा एक सातामा तीन वटा बलात्कार घटना घटेका छन् । यसरी बलात्कारका घटना दिनानुदिन बढ्न थालेपछि अनुसन्धान तथा सुरक्षा व्यवस्थालाई कडाइ गरिएको भोजपुरका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिनुभयो ।
बलात्कारको आरोपमा दुई प्रहरी निलम्वित
यस्तै, जबर्जस्ती करणीको आरोपमा सङ्खुवासभामा दुई जना प्रहरी निलम्वित भएका छन् ।
इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा निलम्बनमा परेका हुन् । उनीहरुमाथि १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप छ ।
प्रहरी सहायक निरीक्षक खतिवडालाई जिल्ला अदालतबाट तारेखमा छाडिएको र प्रहरी जवान शेर्पा हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक श्यामकुमार सारुमगरले जानकारी दिनुभयो ।
