पन्तका हत्यारालाई छिट्टै कारवाहीको दायरामा ल्याइने
काठमाडौँ, ११ असोज : गृहमन्त्री रामबहादुर थापाले बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई छिट्टै कानूनी कारवाहीको दायराभित्र ल्याइने जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो, “पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याउन सकिन्छ । म यसमा विश्वस्त रहन सबैलाई आग्रह गर्दछु । जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा थप अध्ययन अनुसन्धान भइराखेको छ । नतिजा (रिजल्ट) छिट्टै आउँछ ।” प्रतिनिधिसभा, महिला र सामाजिक समितिको आजको बैठकमा गृहमन्त्री थापाले महिला माथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारले उच्च प्राथमिकता दिएको छ भन्नुभयो । महिला माथि हुने हिंसा अपराध नै हुन्, यस्ता अपराधलाई अन्त्य गर्न सामूहिक प्रयासको खाँचो औँल्याउँदै गृहमन्त्री थापाले हिंसालाई राजनीतिकरण नगर्न आग्रहसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, “महिला हिंसालाई बढवा गर्ने तत्वका रुपमा रहेका मदिरा नियन्त्रण, लागुपदार्थ निषेध र अश्लिल प्रकारका विद्युतीय सामग्रीलाई बन्द गरिनुपर्छ, यसमा सरकारले गृहकार्य गरिराखेको छ ।” गृहमन्त्री थापाले महिलालाई नाफा कमाउने साधनका रुपमा प्रयोग गर्ने पूँजीवादी संस्कारले गर्दा महिला हिंसा बढेका हो भन्नुभयो । गृहसचिव प्रेम राईले महिला हिंसा अन्त्य गर्न सामूहिक प्रयासको खाँचो औँल्याउँदै यसका लागि अन्तर मन्त्रालयको समन्वय र बजेटमा समेत वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महिलाले आफूमाथि हुने हिंसालाई प्रहरीकहाँ दर्ता गराउनेक्रम बढेको दाबी गर्दै महिला हिंसा अन्त्य गर्न प्रहरीले आफ्नो क्षमताले भ्याएसम्म कार्य सम्पादन गरेको बताउनुभयो ।
लैङ्गिक हिंसाका घटनामा वृद्धि
पछिल्लो पाँच महीनामा जबर्जस्ती करणी, करणी उद्योग, बहुविवाह, बालविवाह, घरेलुहिंसा र अवैध गर्भपतनजस्ता लैङ्गिक हिंसाका घटनामा वृद्धि भएको छ । विसं २०७५ वैशाखदेखि भदौ महीनासम्म जबजस्ती करणी ७१०, जबर्जस्ती करणी उद्योग ३९१, बहुविवाह ३४०, बालविवाह ४०, घरेलुहिंसा पाँच हजार ४१७ र अवैध गर्भपतन १० वटा घटना प्रहरीकहाँ दर्ता भएका थिए ।
प्रतिनिधिसभा, महिला र सामाजिक समितिको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सो जानकारी दिँदै लैङ्गिक हिंसाका घटनामा वृद्धि हुनु चिन्ताको विषय रहेको बताउनुभयो । उहाँले लैङ्गिक हिंसा अन्त्य गर्न प्रतिनिधिसभाले पारित गरेका सङ्कल्प प्रस्तावलाई कार्यान्वयनमा उतार्न मन्त्रालयले ध्यान दिएको चर्चा गर्दै यसका विरुद्ध अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सातवटै प्रदेशका सबै स्थानीय तहमा पुग्ने गरी यही असोज २० गते कञ्चनपुरबाट अभियानको शुभारम्भ गरिनेछ । अभियानमा लैङ्गिक हिंसाविरुद्धका सचेतनाका कार्यक्रम सञ्चालन गरिने छ ।
बैठकमा सांसद नारायण खतिवडाले लैङ्गिक हिंसाविरुद्ध सामाजिक अभियान सञ्चालन गर्न आवश्यक रहेको चर्चा गर्दै हिंसा गर्नेमाथि कडा कारवाही गरिनुपर्छ भन्नुभयो । सांसद गणेश ठकुन्नाले केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहबाट समन्वय गरी लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम सञ्चालन गर्दा बढी प्रभावकारी हुने सुझाव दिनुभयो । सांसद कृष्ण राईले सामाजिक परिवर्तन र सांस्कृतिक रुपान्तरण गर्न लैङ्गिक हिंसाविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद गङ्गा चौधरीले आफूभन्दा ठूलालाई आदर र सानालाई माया गर्ने नैतिक शिक्षामा कमी हुन जाँदा लैङ्गिक हिंसाका घटनामा वृद्धि भएकोतर्फ ध्यान दिन आग्रह गर्नुभयो । समितिका सभापति निरु पालले लैङ्गिक हिंसाविरुद्ध कार्ययोजना बनाई काम गर्नुपर्छ भन्नुभयो ।
