शान्ति वार्ता ‘एक हप्ताभित्र’ सुरु हुन्छ : राष्ट्रपति घानी
काबुल, १३ साउन : अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवान समूहसँग एक हप्ताभित्र शान्ति वार्ता सुरू हुने मङ्गलबार बताउनुभएको छ ।
तालिम तालिमसँगको महत्वपूर्ण कैदीबन्दीहरूको आदानप्रदानको प्रक्रिया पूरा हुने बित्तिकै आगामी एक हप्तामा शान्ति वार्ता सुरु हुने राष्ट्रपतिले बताउनुभयो ।
“शान्तिप्रति सरकारको प्रतिबद्धता प्रदर्शन गर्न इस्लामिक रिपब्लिकले छिट्टै पाँच हजार तालिवान कैदीहरूलाई रिहा गर्ने काम पूरा गर्नेछ,” घानीले राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरूलाई बताउनुभएको छ ।
सरकारले आफ्नो प्रतिवद्धता पूरा गर्दासाथ तालिवान विद्रोहीसँग प्रत्यक्ष वार्ताको आह्वान गर्नेछ, उहाँले तालिवान विद्रोहलाई शान्तिवार्तामार्फत अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिवानद्वारा तीन दिने युद्धविराम घोषणा
तालिबानले ईद अल अधाको मुस्लिम छुट्टीको समयमा शुक्रवारदेखि तीन दिनको युद्धविराम घोषणा गरेको छ ।
मङ्गलबार नै दुई महिनाभन्दा बढी अविधिपछि अफगानिस्तान सरकारले दोस्रो पटक तालिवानसँग वार्ताको प्रस्ताव गरेसँगै उक्त समूहले पर्वका समय पारेर युद्धविरामको घोषणा गरेको हो ।
तालिवान समूहका प्रवक्ता जाविहुल्ला मुजाहिदले एक विज्ञप्ति जारी गरी भन्नुभयो, “सबै मुजाहिद्दीन (तालिबानी लडाकू) लाई ईद अल–अधाको तीन दिन र तीन रातमा दुश्मनको विरूद्ध कुनै किसिमका सशस्त्र कारबाही रोक्न आह्वान गरिएको छ ।”
यसअघि मङ्गलबार नै राष्ट्रपति असरफ घानीले राष्ट्रपतिको कार्यालयका उच्च पदस्थ अधिकारीसँग एक हप्ताभित्र शान्तिवार्ता हुने बताउनुभएको थियो ।
