आध्यात्मिक चिन्तनको विकास गर्नु आवश्यक
पर्वत ९ असोज : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले हत्या, हिंसा र बलात्कारका घटनालाई अन्त्य गर्नका लागि आध्यात्मिक चिन्तन आवश्यक रहेको बताउनुभएको छ ।
पर्वतको पवित्र तीर्थस्थल मोदीवेणी दिव्यधाममा सोह्र श्राद्धको आवसरमा आयोजना गरिएको श्रीमद् गरुड महापुराण पितृ उद्धार महायज्ञ तथा गीता प्रवचन कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “अहिलेको पुस्तामा आध्यात्मिक सोच हराउँदै गएका कारण नै समाजमा विकृतिजन्य घटना बढ्ने गरेकाले यसको न्यूनीकरणका लागि आध्यात्मिक चिन्तन आवश्यक छ ।”
मन्त्री गुरुङले पछिल्लो समयमा पश्चिमी संस्कृतिको हस्तक्षेप बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै आध्यात्मिकरुपमा नेपाल धनी रहेकाले कसैले कसैलाई कुनै पनि आधारमा सानो ठूलोको हेय भावले नहेर्ने र शुद्ध मनले शुद्ध व्यवहार गर्न सकेमा मुलुकमा सकारात्मक परिवर्तन हुने बताउनुभयो ।
उहाँले बेलको बिरुवा रोपेर महायज्ञको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा कथा बाचक चैतन्य कृष्णजीले पश्चिमा संस्कृतिको प्रभावका कारण मुलुकबाट संस्कृत भाषाको लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै संस्कृत भाषाको लोप भएसंगै मानिसमा पनि नैतिकता लोप भएको र त्यही कारणले नै समाजमा दिन प्रतिदिन बलात्कारका शृङ्खला बढ्दै गइरहेको धारणा व्यक्त गर्नुभयो ।
कालीगण्डकी र मोदी नदीको संगमस्थल मोदीवेणीमा रहेको नृसिंह मन्दिर संरक्षण समितिको आयोजनामा भएको श्रीमद् गरुड महापुराण पितृ उद्धार महायज्ञ तथा गीता प्रवचन पितृ पक्षको अवधिभर सञ्चालन हुनेछ । सोही महायज्ञ स्थलमा पितृ पक्षमा पितृहरुलाई पिण्ड दान गर्नेले सामूहिक रुपमा श्राद्ध गर्न सक्नेछन् ।
