काठमाडौँ उपत्यका पत्ता लागेको सम्झनामा इन्द्रजात्रा
पौराणिक अभिलेख अनुसार राजा गुणकामदेवले काठमाडौँ उपत्यका पत्ता लागेको सम्झनामा १० औं शताब्दीमा इन्द्रजात्रा मनाउने चलन शुरु गरेका थिए भने पछि १८ औं शताब्दीतिरबाट मल्ल राजा जय प्रकाश मल्लको पालादेखि प्राथमिकता पाएको इन्द्रजात्रासंगै कुमारीजात्राको पनि शुरुवात भएको थियो भन्ने ऐतिहासिक विवरण छ | इन्द्रजात्रा विशेषगरी परापूर्वकालदेखि काठमाडौँको केन्द्रविन्दु, काठमाडौँ वा वसन्तपुर दरबार स्क्वायर र त्यसको वरपरको प्राचीन नेवारी बस्तीहरुमा नेपाल सम्वतको ११ औं महिना ‘यंला’को शुक्लपक्षको १२ औं दिनदेखि शुरु भई कृष्णपक्षको चौंथीसम्म गरी जम्मा आठ दिन मनाउने परम्परा छ | यस दिन पहिला पहिला उपत्यकामा मात्रै सार्वजनिक विदा दिने गरेकोमा हाल आएर अधिराज्यभरनि विदा दिनथालिएको छ|
वसन्तपुर हनुमानढोका दरबार स्क्वायरमा भक्तपुरको चित्तपोलभन्ने ठाउँबाट ल्याएको लिङ्गो वा योंसि ठड्याएरपश्चात् अर्थात् स्थानीय नेवारी भाषामा ‘योंसि थनेगु’ गरेपछि लोकभाषामै ‘उपाकु वनेगु’ अर्थात् बत्ती बाल्न जाने भनेर आफन्त मरेको घरपरिवारका मानिसहरु मृतकको सम्झनामा धूप,दीयो बालेर वरपरको देव-देवता तथा मन्दिरहरु परिक्रमा गर्ने गर्दछन् |त्यसपछि इष्टदेवी अर्थात् जिउँदो देवीको नामबाट विश्व विख्यात कुमारीदेवीको रथयात्रा बज्रयानी तान्त्रिक विधिपूर्वक पूजा गरेपछि श्री भैरव,श्री गणेश, आदि देवताको रथयात्रा संगसंगै बसन्तपुरस्थित कुमारीघरबाट निकालिन्छन् र रथयात्राको नि प्रथम दिन ‘क्वनेया:, दोश्रो दिन,’येंया: पुन्हि:’ र तेश्रो दिन ‘मानीचाया: गरी तीनदिनसम्ममा काठमाडौँ बसन्तपुर दरबार क्षेत्र वरपरका सबै प्राचीन नेवारी बस्ती/टोलहरुमा स्थानीय नेवार समुदायकै मानिसहरुको सहभागितामा परिक्रमा गराइन्छन् |
आठ दिनसम्म चल्ने इन्द्रजात्राको विभिन्न दिनमितिमा विश्व प्रसिद्ध नेपालको “माजिपा लाखे नाँच, हलचोकको ‘सवाभक्कु भैरवी नाँच’, देवदेवी नाँच, महाकाली नाँच, चर्चित पुलुकिसि नाँच र अष्टमातृका लगायतका अन्य हिन्दू तान्त्रिक नाँचहरु पनि प्रदर्शन गर्ने गरिन्छ | यस्तो सेतिहसिक,सांस्कृतिक एवं पारम्परिक चार्डपर्व इन्द्रजात्राको रौनक हेर्नका लागि देश, विदेशका अनगिन्ति मानिसहरुको घुइंचो नै लागेको हुन्छ, काठमाडौँ उपत्यकामा भने स्थानीयको घरघरमा आफ्ना इष्टमित्र,आफन्त तथा छोरीहरुलाई बोलाई खुवाउने भोजभत्तेर नै लागेको हुन्छ |
इन्द्रजात्रामा इन्द्रचोकको आकाश भैरव, वसन्तपुरको स्वेत भैरव, लगायतका विभिन्न ठाउँ,टोलमा भैरवका मुकुट अथवा मास्कहरु प्रदर्शन गर्ने पनि गरिन्छ | ती भैरवका मुकुटका बडेमान मास्कहरु अवलोकन गर्ने आउने मानिसहरुको भीडपनि देख्न लायकको हुन्छ भने इन्द्र देवाताको प्रतिमूर्तिहरुपनि ठाउँ-ठाउँमा देखाउने चलन छ | काठमाडौँ नजीकको भक्तपुरमा पनि यमबोध्य नामक खम्बाहरु ठड्याउने भगवान इन्द्रको प्रतिमूर्ति विभिन्न ठाउँमा देखाउने गरी मुकुट लगाएर विभिन्न देवदेवताको तान्त्रिक नाँच तथा पुलुकिसी नाँच गरेर इन्द्रजात्रा सम्पन्न गरिन्छ |
साभार: नेपाली पात्रो
