खुर्शिद हत्या छानविन गर्न समिति गठन
काठमाडौँ, ५ असोज : गृह मन्त्रालयले सुनसरीका शिक्षक खुर्शिद अन्सारीको हत्याको घटनाबारे छानविन गर्न प्रदेश १ का प्रहरी वरिष्ठ उपरीक्षक किशोर दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।
मन्त्रालयले दाहालको संयोजकत्वमा प्रहरी उपरीक्षक रेशमकुमार थन्सु, उप अनुसन्धान निर्देशक तुलसी प्रसाईं, १ नं प्रदेशका आन्तरिक मामिला मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य सदस्य र सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजन पाण्डे सदस्य सचिव रहनेगरी समिति गठन गरेको हो ।
मन्त्रालयले समितिलाई १५ दिनभित्र घटनाको विस्तृत छानविन गरी सत्यतथ्य विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयले घटनाको अध्ययन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई छुट्टै अनुसन्धान टोली बनाएर अध्ययन गर्न निर्देशन दिएको छ । यसअघि बिहीबार नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले खुर्शिदको हत्याबारे छानविन गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको थियो ।
शव परीक्षणका लागि धरान पठाइयो
अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएका मौलाना खुर्शिद अन्सारीको शव परीक्षणका लागि आज साँझ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ लगिएको छ ।
सुनसरी हरिनगर गाउँपालिका–२ रामनगरभुटहामा सरकारी पक्ष र स्थानीय मुस्लिम अगुवाबीच भएको सहमतिपछि उनकोे शव परीक्षणका लागि धरान पठाइएको हो । मौलाना खुर्शिदको मृत्यु भएको करीब ३० घण्टापछि स्थानीयवासीले शव परीक्षणका लागि उठाउन दिएको हो ।
स्थानीयवासीले राखेको मागमध्ये गृहमन्त्रालयमार्फत सम्बोधन हुन सक्ने सबै सम्बोधन भएको र बाँकी मन्त्रिपरिषद्को बैठकमार्फत सम्बोधन हुने गरी गृहमन्त्रालयले प्रस्ताव लगेको विश्वास दिलाएपछि उनीहरुले शव उठाउन दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताउनुभयो । प्रजिअ उप्रेतीको संयोजकत्वमा वार्ता भएको थियो ।
स्थानीयवासीको मागमध्ये छानबिन समिति गठन भइसकेको, अनुसन्धान समिति गठन भइसकेको, भुटाहादेखि घुस्कीसम्म रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको युनिट परिवर्तन गर्ने लगायतका माग सम्बोधन भइसकेको तथा शहीद घोषणा, क्षतिपूर्ति जस्ता विषयमा आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने सम्भावना रहेको विश्वास दिलाएपछि स्थानीयवासीले शव उठाउन दिएको प्रजिअ उप्रेतीले राससलाई जानकारी दिनुभयो ।
वार्ता सकारात्मक भएको र आन्दोलनका सबै कार्यक्रम अर्को निर्णय नहुञ्जेलसम्मका लागि फिर्ता लिएको समाजसेवी नइम अन्सारीले बताउनुभयो ।
हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीको बिहीबार अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको थियो । सो घटनाका विषय लिएर स्थानीयवासीले हरिनगर, भुटाहा र भोक्राहा बजार आज दिनभरि बन्द गराएका थिए ।
