लकडाउन अवज्ञा गर्ने १६ पक्राउ
चितवन, ११ चैत : जिल्ला प्रहरी कार्यालय चितवनले १६ जनालाई नियन्त्रणमा लिएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले आजदेखि लागू गरेको एकहप्ते ‘लकडाउन’ उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुमध्ये १० जनालाई सम्झाइबुझाइ छाडिएको छ भने छ जनालाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको छ । गुरुङका अनुसार जिल्लाका विभिन्न ठाउँमा गरिएको चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । आइन्दा सवारी नचलाउने प्रतिबद्धता जनाएकालाई छाडिएको छ भने जबर्जस्ती गर्न खोज्नेलाई प्रशासन पठाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार घटनाको प्रकृति हेरेर उनीहरुमाथि कारवाही हुनेछ । मुलुकबन्दको जिल्लावासीले सकारात्मक रुपमा लिएर सहयोग गरेका छन् । बिहानपख सर्वसाधारण सडक देखिएपछि सरोकारवालाले भिडियो सन्देश र सन्देशमार्फत घरबाहिर ननिस्कन आह्वान गरेका थिए ।
कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार र नेपाली काँगे्रसका जिल्ला सभापति जितनारायण श्रेष्ठले सन्देश प्रवाह गर्दै सरकारले आह्वान गरेको लकडाउनमा सहयोग गरिदिन आह्वान गर्नुभएको थियो । उहाँहरुको सन्देशमा सरकारको निर्देशनलाई सबैले पालन गरेमा रोग भित्रिनबाट रोक्न सकिने जनाइएको छ ।
लकडाउन अवज्ञा गर्ने प्रहरी नियन्त्रणमा
बुटवलमा लकडाउन अवज्ञा गर्दै हिँडेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलको राजमार्ग चौरहामा मोटरसाइकलमा होहल्ला गर्दै हिँडेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
मादक पदार्थ सेवन गरेर मोटरसाइकलमा होहल्ला गर्दै हिँडेका बुटवलका हेमन्त घिमिरे, सन्तोष रास्कोटी र नवराज श्रेष्ठलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरुले प्रयोग गरेको लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको बताइएको छ ।
यसैगरी लकडाउन अवज्ञा गर्दै सडकमा सवारी चलाउने १६७ सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलका विभिन्न स्थानमा चलाइएका १५२ मोटरसाइकल, तीन तीन स्कुटर र कार, एक ट्याक्टर, दुई अटो रिक्सा र ६ ट्रक नियन्त्रणमा लिइएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिनुभयो ।
