पहिले दुव्र्यसनी, अहिले अभियानकर्मी
दीपक बोहरा तुलसीपुर, २ चैत : कुनै समय आफैँ लागुपदार्थ दुव्र्यसनीमा फसेकाहरुले अहिले सचेतना प्रदान गर्दै आएका छन् । दाङको लमही–५ रातोडाँडा निवासी सुरेश भुषाल पूर्वदुव्र्यसनी हुनुहुन्छ । उहाँ छ वर्षअघि लागुऔषध दुव्र्यसनीमा फस्नुभएको थियो तर अहिले उहाँ आफैँ लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्ने अभियानमा सक्रिय हुनुहुन्छ ।
पुनःस्थापना केन्द्रमा गएर उपचार गराएपछि उहाँ दुव्र्यसनी विरुद्ध सचेतना फैलाउने अभियानकर्मीका रूपमा क्रियाशील हुनुहुन्छ । “हामीले लागुऔषध प्रयोग गर्दा हाम्रो स्वास्थ्य मात्रै होइन घर नै बिग्रिने रहेछ भन्ने कुरा पुनःस्थापना केन्द्रमा गएपछि थाहा पाएँ”, उहाँले भन्नुभयो, “अब यस्तो कुलतमा फसेर अरुको भविष्य पनि नबिग्रियोस् भन्ने उद्देश्यले आफैँ सचेतना प्रदान गर्नेतर्फ लागेँ ।” अहिले उहाँ तुलसीपुर–१९ बिजौरीमा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रको कार्यकारी निर्देशक भएर काम गर्नुभएको छ ।
त्यस्तै दाङकै यमप्रसाद खरेल पनि पूर्वदुव्र्यसनी हुनुहुन्छ । उहाँ पनि तीन वर्षअघि अत्यधिक जाँडरक्सी खाने कुलतमा फस्नुभएको थियो । तर यसले आफैँ सचेतना अभियानमा हुनुहुन्छ ।
त्यस्तै तुलसीपुरका ४३ वर्षीय ओमलाल जैसी फर्निचर बनाउने राम्रो मिस्त्रीका साथै कुकमा पनि दख्खल राख्नुहुन्छ । उहाँले कुनै समय आफूसँग भएको सीप प्रयोग गरेर मासिक रु ४० हजारसम्म कमाउनुहुन्थ्यो तर जब उहाँ कुलतमा फस्नुभयो, त्यसपछि आफूले कमाएको सबै पैसा त्यसमै खर्च हुन थाल्यो । दिनभर कमाउने र त्यो पैसा साँझ रक्सी खाएर फाल्ने गर्नुहुन्थ्यो । उहाँले विगत दुई वर्षदेखि त्यसरी नै पैसा फाल्न थालेपछि उहाँको घर व्यवहारमा असहज भयो र उहाँलाई तुलसीपुर–१९ बिजौरी हाडिमेको नयाँ पाइला पुनःस्थापना केन्द्रमा राखियो ।
अहिले दाङ बिजौरीमा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रमा बसेकाहरुले पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएको केन्द्रका कार्यकारी निर्देशक सुरेश भुषालले बताउनुभयो । “पहिले दुव्र्यसनीमा फसेका अहिले आफैँ लागुऔषधका बारेमा चेतना फैलाउँदै आउनुभएको छ”, उहाँले भन्नुभयो, “दाङमा अहिले जति पनि पुनःस्थापना केन्द्र सञ्चालनमा छन्, त्यसका प्रमुख सबै पहिले दुव्यर्सनीमा फसेका व्यक्तिहरु हुनुहुन्छ ।” आफू पनि पाँच वर्षअघि दुव्र्यसनीमा फसेको र सोही केन्द्रमै गएका कारण आफूले अहिले अरुलाई सचेतना प्रदान गरिरहेको उहाँले बताउनुभयो ।
छ महिनासम्म सुधारगृहमा बसेपछि उहाँको जीवन पुनःपरिवर्तन भएको छ । उहाँ पहिले जस्तै बिजौरीको एक फर्निचरमा काम गर्दै आउनुभएको छ । अहिले उहाँले मासिक रु १५ हजार कमाउँदै आएको समेत बताउनुभयो ।
“मलाई चौबिसै घण्टा रक्सी पिउने बानी बसेको थियो” उहाँले भन्नुभयो, “म नशा छोड्नसक्ने अवस्थामा थिइन, जब म छ महिना सुधारगृहमा बसेँ त्यसपछि नशाको नाम पनि लिन चहान्न ।” पुनःस्थापना केन्द्रले आफूलाई पुनर्जीवन दिएको उहाँको भनाइ छ । नियमित १३ वर्षको उमेरदेखि रक्सी खाँदै आउनुभएका जैसीमा सुधारकेन्द्रमा गएपछि छ महिनामै परिवर्तन आयो । “तेह्र वर्षदेखि नियमित रक्सी पिउने गरेको भए पनि एक वर्ष अघिदेखि मैले चौबिसै घण्टा रक्सी खाने गरेको थिएँ” उहाँले भन्नुभयो, “तर छ महिना सुधार केन्द्रमा बसेपछि मेरो चेतनामा परिवर्तन भयो ।”
उहाँमात्रै नभई सुधार केन्द्रबाट केही प्रतिष्ठित व्यक्तिको कुलत पनि छुटेको छ । जिल्लाका केही सरकारी कार्यालयमा काम गर्ने कर्मचारीदेखि शिक्षकसम्मको जीवनमा परिवर्तन ल्याएको छ, सुधार केन्द्रले । एक
बिजौरीको उक्त सुधार केन्द्रमा गएर जीवन बदलेकाहरुले अहिले अरुको जीवन सुधार गरिरहेका छन् । अहिले दाङ बिजौरीमा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रमा बसेकाहरुले पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएको केन्द्रका कार्यकारी निर्देशक भुषालको भनाइ छ ।
अहिलेसम्म उक्त पुनःस्थापना केन्द्रबाट एकहजारभन्दा बढीलाई उपचार गरिएको र दुई हजारभन्दा बढी परिवारलाई परामर्शा दिइएको उहाँले बताउनुभयो । पछिल्लो समय लागुऔषध प्रयोगकर्ता बढिरहेको भन्दै वार्षिक डेढसय भन्दा बढीलाई उपचार गर्ने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार पछिल्लो समय ट्याब्लेट्स्, गाँजा, रक्सी, ब्राउनसुगर प्रयोग गर्ने धेरै छन् । महिनामा त्यस्ता १०÷१२ जना आउने गरेका छन् ।
प्रायः १३ देखि २४ वर्ष उमेर समूहकाले गाँजा, ट्याब्लेटस्, ब्राउनसुगरमा फस्ने गरेको तथा २४ देखि माथिको उमेर समूह रक्सीमा फस्ने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार आफूहरुले अहिले ‘मल्टिड्रग्स टेस्ट’बाट परीक्षण गरी उनीहरुको शारीरिक अवस्थाअनुसार उपचार गर्ने गरेको बताउनुभयो ।
अहिले मनोरञ्जन, आध्यात्मिक, परामर्श, विभिन्न व्यवसायलगायत चेतनामूलक सन्देश प्रदान गर्ने गरेको बताउनुभयो । “शुरुको एक महिना शारीरिक, अर्को दुई र तीन महिनामा चेतनामूलक कक्षा र जाँच तथा तीन महिनापछि परामर्श हुन्छ”, उहाँले भन्नुभयो, “अहिले केन्द्रमा ३८ जना रहेको र २०७१ सालदेखि अहिलेसम्म २५० जनालाई निःशुल्क सेवा प्रदान गर्ने गरिएको छ ।” केन्द्रले आर्थिक अवस्था कमजोर भएका तथा सहाराविहीनहरुलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।
अभिभावक सचेत हुनुपर्छ
कार्यकारी निर्देशक भुषालले आफ्नो सन्तान दुव्र्यसनीमा फस्ने विषयमा अभिभावकहरू सचेत हुनुपर्ने बताउनुभयो । साथीहरुको लहैलहैमा लागेर फसिरहेको अवस्थामा पनि अभिभावकले कुनै चासो नदिँदा त्यसले ठूलो रूप लिने गरेको उहाँको भनाइ छ । अभिभावकले लागुपदार्थ दुव्र्यसनीमा फसेकाको लक्षण के हुन्छ भनेर जान्न जरुरी रहेको उहाँले बताउनुभयो । अर्कोतर्फ आमाबुबाले लागुपदार्थ खाएको देखेमा पनि बच्चाहरू त्यसप्रति आकर्षित हुने भन्दै यस विषयमा पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
अहिले दाङमा यसरी लागुपदार्थ अवैधरूपमा बेचबिखन गर्नेहरुले सञ्जाल चलाएकाले उक्त सञ्जालमा फस्ने गरेको बताउनुभयो । दुव्र्यसनी समाजका लागि ठूलो रोग भएकोसमेत उहाँले बताउनुभयो ।
