ललितपुरमा हरसिद्धि भवानीको जात्रा

सुभानु आचार्य । ललितपुर, २६ फागुन : ललितपुर महानगरपालिका–१८ स्थित हरसिद्धि भवानीदेवी मन्दिर प्राङ्गणमा गए राति एक बजेदेखि हरसिद्धि भवानीको जात्रा शुरु भएको छ । यो जात्रा अर्थात् नाच वर्षको दुईपटक मङ्सिर शुक्ल पूर्णिमा र फागु पूर्णिमामा मनाउने गरिन्छ ।

भवानीको महिमा झल्काउने यो जात्रामा नृत्य तथा नाटकको पनि मञ्चन गर्ने गरिन्छ । यो नेपालको सबभन्दा पुरानो परम्परा रहेको ६९ वर्षीय धर्मगोविन्द महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “विक्रम संवत् शुरु हुनुअघि यो जात्रा वा नाट्य मञ्चन गरिन्थ्यो । नेपाल भाषामा लेखिएअनुसार यो नाट्य कृति ९४१ अघि नै शुरु भएको हो ।” हरसिद्धि भवानी सत्य युगमा नै प्रकट भएको कुरा नेपाल महात्म्यमा उल्लेख भएको महर्जनले जानकारी दिनुभयो । “स्वस्थानीका पात्र अगस्त्य मुनिले पाटनको कुम्भेश्वरको पूजा गरी हरसिद्धि भवानीको दर्शन गरेर दक्षिण दिशामा जानुभएको कुरा नेपाल महात्म्यको २६आँै अध्यायमा उल्लेख छ”, महर्जनले थप्नुभयो ।

नेवारी संस्कृतिअनुसार भवानी जात्रामा तान्त्रिक विधिको प्रयोग गरी नृत्यमञ्चन वा जात्रा गर्ने गरिन्छ । विगतमा भवानी जात्रा मङ्सिर पूर्णिमादेखि फागु पूर्णिमासम्म तीन महिना मनाउने गरिन्थ्यो । समयसँगै मानिसको अनुकूलता नमिल्दा धान्य पूर्णिमाका दिन र फागु पूर्णिमाका दिन गरी तीन महिना पु¥याउने चलन हाल रहेको छ ।

डा चुन्दा बज्राचार्यले लेख्नुभएको ‘नेपालमा नाट्यको इतिहास’ अनुसार नाटकलाई नृत्यका रुपमा देखाउने परम्परा उज्जैन (भारतका) राजा विक्रमादित्यको पालादेखि शुरु भएको हो । कुनै समय नेपालमा यो जात्रा मञ्चन भई लोप भएको भाषा वंशावलीमा उल्लेख छ ।

राजा नरेन्द्रदेवको पालामा रातो मच्छिन्द्रनाथलाई नेपाल ल्याउन हरसिद्धि भवानीको साधना गरिएको थियो । साधनापछि मच्छिन्द्रनाथ नेपाल आएको हुँदा भवानी र मच्छिन्द्रनाथको महत्वसँगै अघि बढेको पाइन्छ । नरेन्द्रदेवका छोरा बरदेवले दोस्रोपटक भवानी जात्रालाई जगाएर भारतबाट नेपाल घुम्न आएका शङ्कराचार्यलाई देखाएर खुशी पारेर पठाएको कुरा पनि वंशावलीमा उल्लेख छ ।

यसैगरी राजा रत्न मल्लको पालामा लोप हुन लागेको यो जात्रा जोगाउन भवानीलाई जगाएको बताइन्छ । हरसिद्धि भवानीलाई सङ्कटहर्ता वा सहकालकी देवीका रुपमा पुजिने गरिन्छ । वंशावलीमा उल्लेख भएअनुसार ‘हरसिद्धिमाई र गोदावरीको फूल्चोकीमाई एउटै हुन्, यिनीहरुलाई फरक देख्नु हुँदैन’ भनिएको छ । यसै मान्यताअनुसार हरसिद्धिका मानिस पत्येक १२ वर्षमा एकपल्ट फुल्चोकी पूजा गर्न जाने गर्छन् ।

यस भवानी जात्रामा आज बिहान अष्टमातृका देवीको कथामा आधारित तथा तम्नाऋखेश्वर महादेवको कथामा आधारित र फुल्चोकीमाई, धिमाचोमाई र हात्तीदेवको कथामा आधारितसाथै स्वस्थानी कथामा रहेका नवराजलाई हरिहर प्रकट भएर दर्शन दिएको अनि भष्मासुर दैत्यले महादेवलाई लखेटेको नाच मञ्चन गरियो ।

आज दिउँसो भने विक्रमादित्य राजाले चारै दिशाका राजालाई जितेर चक्रवर्ती राज्य कायम गरी वीर विक्रमादित्य कहलाएको कथामा आधारित नृत्य मञ्चन गरियो । ललितपुरमा हरसिद्धि भवानी रहेको कुरा जानकारी नहँुदा भारतबाट भवानी नेपाल ल्याइयो । बानेश्वरमा उक्त भवानी स्थापना गरेपछि ललितपुरमै रहेको कुरा खुल्न आयो । उक्त कुरा खुलेपछि हरसिद्धिका मानिस हरेक १२ वर्षमा बानेश्वरमा पनि भवानीको साधना गर्न जाने गरेका स्थानीयवासीको भनाइ छ ।

यस जात्रामा डुन्डुभी राक्षसलाई रामचन्द्रले बध गर्ने कथा पनि रहेको छ । यस नाचले पौराणिक आख्यानअनुसार फुल्चोकीमाई र भवानी एउटै रुप रहेको दर्शाउँछ । उक्त नाचको फलस्वरुप हरेक १२ वर्षको सिंहअस्त मेलामा हरसिद्धिका पुजारीले गोदावरी कुण्डको ढोका खोल्ने गरेका छन् ।

रामचन्द्रले वानर राजा बालिको हत्या भवानीको खड्ग शक्ति लिएर गरेको मान्यताअनुसार नृृत्य मञ्चन गर्ने अर्काे कथा जात्रामा देखाइन्छ । भवानी जात्रा गर्ने आठ दिनअघि हरसिद्धिमा बाजा बजाउन हुन्न । जात्रा हुनु आठ दिनअघि हरसिद्धिका जनता राति एकै स्थानमा भेला भई सल्लाह गर्ने गर्छन् । आठ दिनअघिदेखि हरसिद्धिका २९ पुजारीले खेतीपाती तथा परदेश जाने काम गर्ने छैनन् भने चोखो खाएर चोखो कर्मका साथ बस्नुपर्ने नियम रहेको पुजारी धनबहादुर महर्जनले बताउनुभयो ।

भवानीको मूर्ति प्रत्येक १२ वर्षमा एकपटक कुम्भेश्वर लगी त्यहाँको एकता विहारमा पखाल्ने वा पालिस गर्ने गरिन्छ । यो काम गर्ने मानिस त्यस दिन शुद्ध र पवित्र हुनपर्छ । नेपाल संवत् ४९५ मा हरसिद्धिमाईको मूर्ति पखाल्दा राखेको काठ पानी बगे जति ठाउँको ढुङ्गामा परिवर्तन भएको गोपालराज वंशावलीमा उल्लेख छ ।

स्कन्दपुराणमा उल्लेख भएअनुसार यी भवानी नेपालमा सबैभन्दा पहिले प्रकट भएकी देवी हुन् । महादेव र पार्वती पासा खेलेर मग्न भएको अवस्थामा पराक्रमी दुई दैत्य चण्ड र प्रचण्ड आई नन्दीलगायत शिव गणलाई घाइते बनाएर पार्वतीको हरण गर्न खोज्छन् । आफ्नो अगाडि यत्रो ठूलो साहस गरेका यी दैत्यको बध गर्न महादेवले पार्वतीलाई आग्रह गर्छन् । पार्वतीले शिवशक्ति स्वरुप चण्डीका भगवतीको रुपधारण गरी यी दुई दैत्यको बध गर्छिन् । पार्वतीले यिनीहरुको बध गरेपछि महादेवले उनलाई खुशी भई अब तिम्रो नाम पृथ्वीमा हरसिद्धि भनेर प्रख्यात हुने वरदान दिएको किंवदन्ती छ । ‘हर’ को अर्थ ‘महादेव’ र ‘सिद्धि’ को अर्थ ‘शक्ति’ हो । हर अर्थात् महादेवको आज्ञा पालना गरेर कार्य सिद्धि गरेकाले यिनलाई हरसिद्धिमाई भनिएको भाषा वंशावलीमा उल्लेख छ ।

हरसिद्धि भवानी ब्रह्मायणी, महेश्वरी र कुमारीको एक रुप हो भने महासरस्वती, महाकाली वा महालक्ष्मीको अर्काे रुप हो । संसारमा रहेका दुष्टको नाश गरी सज्जनको हित गर्ने भएकाले यिनलाई सहकालकी देवीका रुपमा पुजिन्छ । हरसिद्धिवासीका अनुसार हरसिद्धिमाई र फुल्चोकीमाईलाई एकै दिन पूजा गर्दा यहाँ पानी पर्ने विश्वास रहेको छ । यस भवानी मन्दिरवरपर सुङ्गुर वा बङ्गुर पालन गर्न र कुखुरा तथा अण्डा बलि दिन नहुने स्थानीयवासी बाबुशरण महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यस जात्राको अन्त्यमा राँगा, हाँस, माछा, भेडा र बोका काटी पञ्चबलि दिने चलन छ ।” भवानी जात्रामा हरसिद्धि, ठैव, धापाखेल, थेचो, सुनाकोठी, खोकना, बुङ्मती, चापागाउँ, पाटन, सिद्धिपुरका मानिस जात्रा हेर्न आउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.