भारतमा भएको झडपमा नौँ जनाको मृत्यु 

नयाँ दिल्ली, १३ फागुन : भारतको केन्द्रीय राजधानीमा भएको झडपमा परी नौँ जनाको मृत्यु भएको छ ।

नागरिकता सम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएकाहरुका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार राजधानीका धेरै ठाउँमा प्रदर्शन र झडपका घटना भएका छन् । दिल्ली प्रहरीले घटनामा परी नौँ जनाको मृत्यु भएको र त्यसमध्ये एक जना प्रहरी र अरु आठ जना सर्वसाधारण नागरिक रहेको बताएको छ ।

केन्द्रीय गृहमन्त्री अमित शाहले झडपको घटना भएपछि सोमबार राती सुरक्षा उच्च अधिकारीहरुसँग छलफल गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद नयाँ नागरिकता कानुनको विषयलाई लिएर विरोध प्रदर्शन भएको हो ।

उत्तरपूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य क्षेत्रहरूमा आइतबारदेखि प्रदर्शन र हिंसा सुरु भएको समाचारमा जनाइएको छ । प्रदर्शन मङ्गलबार पनि जारी छ ।

ढुङ्गामुढा गरिरहेको भिडलाई पन्छाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.