काठमाडौ जिल्ला अदालतबाट महरालाई सफाइ

कृष्णबहादुर महरा

काठमाडौं, ५ फाल्गुन: पूर्वसभामुख कृष्णबहादुर महरा झण्डै पाँच महिनाको कारागार बसाइपछि आज घर फर्कनुभएको छ । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयासको अभियोगमा कारागारमा रहनुभएका महराविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँले सफाइ दिने फैसला गरेपछि कारागार मुक्त भई घर फर्कनुभएको हो ।

आजै न्यायाधीश अम्बरराज पौडेलको इजलासले प्रमाणका आधारमा पूर्वसभामुख महरालाई सफाइ दिने फैसला गरेको थियो । “घटनाको अनुसन्धानका क्रममा भएको बयान र अदालतमा गरिएको बयान तथा पीडितले गरेको वकपत्र अध्ययन गर्दा एवं घटना भएको दिन आफ्नो कोठामा प्रतिवादी आउँदै नआएको पीडितको स्पष्ट बयान सफाइ पाउने आधार हो”, अदालतमा श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले भन्नुभयो, “जाहेरवाला पीडितले कुटपिट गरेकोलगायतको अभियोग दाबीबमोजिमको प्रयास नगरेको पीडितको वकपत्र र बयानमा स्पष्ट छ ।”

फैसलाको अर्को मुख्य आधारमा औँठा छाप परीक्षण गर्ने विशेषज्ञको प्रतिवेदनअनुसार घटना भएको समयमा गिलास, चस्मासमेतमा औँठाको छाप महराको औँठा छापसँग नमिलेको हुँदा अभियोगअनुसार दाबी नपुगेको देखिएको फैसलामा उल्लेख छ ।

संसद् सचिवालयको एक महिला कर्मचारीलाई बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको आइतबार अन्तिम बहस शुरु भएको थियो । समय नभ्याएको हुनाले फैसला गर्न हेर्दाहेर्दैमा आज फैसला भएको हो । महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको थियो तर अभियोग पुष्टि हुन सकेन ।

निवर्तमान सभामुख महरा गत कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलाशले महरा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । सो आदेशअघि महरा गत असोज १९ गतेदेखि कात्तिक १८ गतेसम्म झण्डै एक महिना प्रहरी हिरासतमै बिताउनुभयोे ।

पूर्वसभामुख महराले जिल्ला अदालतको थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएको उल्लेख गर्दै साधारण तारेखमा रही पुर्पक्ष गरिपाउँ भन्ने निवेदन उच्च अदालतमा निवेदन गत मङ्सिर ५ गते दर्ता गर्नुभएको थियो । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँबरको इजलासले महरालाई धरौटीमा छाड्न अस्वीकार गर्दै काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई सदर गरेको थियो ।

पूर्वसभामुख महराविरुद्धको घटना गत असोज १२ गते प्रहरीले सार्वजनिक गरेको थियो । सोही अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोग पुष्टि नभएपछि पुर्पक्षका लागि थुनामा रहुनुभएको महरा सफाइ पाएर घर फर्कनुभएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका महराविरुद्ध जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । गत असोज १९ गते पक्राउ परेका महरा कात्तिक १८ देखि पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका थिए । महरामाथि असोज १२ गते शाहीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको थियो ।

सुरुमा महराले आफुलाई बलात्कारको प्रयास गरेको आरोप लगाएकी शाहीले त्यसपछि भने निरन्तर आरोप अस्वीकार गर्दै आएकी छन् । उनी महरा निर्दोष रहेको भन्दै जिल्ला र उच्च अदालतसमेत पुगेकी थिइन् ।

महराविरुद्ध सरकारी पक्षबाट उमाकान्त खनाल लगायत वकिलहरूले र महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, डा. दिनमणि पोखरेल, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए ।

जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुदको बलात्कारको प्रयासको मुद्दामा सफाइ पाएपछि कारागार कार्यालय डिल्लीबजारबाट बाहिरिने क्रममा महरा । तस्वीर: नवीन पौडेल
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.