भारतद्वारा चीनबाट ६४० जनाको उद्धार

नयाँ दिल्ली, २३ माघ : भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको उहानबाट ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ ।

उद्धार गर्ने क्रममा माल्दिभ्सका सात जनालाई पनि उद्धार गरेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

चीनसँगको सहकार्य र समन्वयमा उनीहरूलाई उच्च जोखिमका बीचमा उद्धार गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

“हामीले ६४० भारतीय नागरिकलाई चीनबाट उद्धार गरेका छौँ, उनीहरुसँगै माल्दिभ्सका सात जनालाई पनि उद्धार गरिएको छ,” मन्त्रालयका प्रवक्ता राविस कुमारले भन्नुभयो ।

उनीहरुलाई दुई उडान मार्फत् भारत ल्याइएको र उनीहरु अधिकांशलाई वुहान र वुहान नजिकैका क्षेत्रबाट उद्धार गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले दिएको जानकारी अनुसार उद्धार गरिएकाहरु मध्ये कसैलाई पनि कुनै पनि प्रकारको रोग देखिएको छैन ।

उहाँले यसलाई ठूलो उद्धारको रुपमा लिइएको बताउनु भयो । उनीहरुलाई उद्धारका लागि चीनले गरेको सहयोग र समन्वय उल्लेख्य रहेको पनि उहाँले जानकारी दिनुभयो ।

भारत फर्किन खोजेका अरु दश जना भने स्वास्थ्य परिक्षणको प्रक्रिया पुरा नभएकाले फर्किन नपाएको प्रवक्ता कुमारको भनाई छ ।

उहाँले चीनमा रहेका र स्वदेश फर्किन चाहेकाहरुलाई चीनस्थीत भारतीय दूतावास तथा संवन्धीत अन्य कार्यालयमा सम्पर्क गर्न पनि आह्वान गर्नुभयो ।

चीनमा गत डिसेम्बरदेखि देखिन थालेको कोरोना भइरसका कारण अहिलेसम्म ५६२ भन्दा बढीको मृत्यु भइसकेको छ भने अरु हजारौ सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.