जलाइएको शव फेला

झापाको बिर्तामोड नगरपालिका २ चारपानेस्थित ऐनकुमार राजवंशीको खेतमा राखेको परालको माचमा सोमबार राति १२ बजेदेखि आगो लागेर शव फेला परेपछि आगो लगाइएको आशङकामा प्रहरीले तालीमप्राप्त कुकुर सहयोगमा अनुसन्धन गर्दै । तस्वीर: सुरेन्द्र भण्डारी

सुरुङ्गा, २१ माघ : झापाको बिर्तामोड नगरपालिका– २ चारपाने नजिकै खेतमा आज एक व्यक्तिको शव फेला परेपछि प्रहरीले तीनजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । चारपाने निवासी रहमान शेखका ज्वाइँ हराएको र नजिकै खेतमा पुरुषको शव जलेको अवस्थामा फेला परेपछि रहमानसहित उनकी श्रीमती र छोरी सुषमालाई इलाका प्रहरी कार्यालय अनारमनीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

तीनै जनासँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । सुषमाका श्रीमान् हराउनु र परालमा जलेको अवस्थामा शव भेटिएको सन्दर्भमा उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो– “जलेका व्यक्तिको हुलिया खुल्न नसकेर थप अनुसन्धानका लागि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानबाट तालीम प्राप्त कुकुर झिकाएर अहिले अनुसन्धान भइरहेको छ ।”

स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखेको परालमा सोमबार राति १२ बजेदेखि आगो लागेको थियो । सोही ठाउँमा जलेको अवस्थामा शव भेटिएको प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो, “घटनाको विषयमा अनुसन्धान हुँदै छ । शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.