मुक्तकमैया पुनःस्थापना गर्न सर्वपक्षीय चिन्ता

थारु आयोगको आयोजनामा आयोगले सोमबार बाँके कोहलपुरमा मुक्तकमैया तथा सुकुम्वासी समस्या समाधानका लागि मुक्तकमैयाका प्रदेश नं. ५, ६ र ७ गरी तीनवटै प्रदेशका अगुवा नेताहरुसँग छलफल कार्यक्रममा बोल्दै थारु आयोगका अध्यक्ष विष्णुप्रसाद थारु । तस्वीर: मेनका चौधरी

मेनका चौधरी । धम्बोझी, २१ माघ : धेरै वर्षअघि मुक्तकमैयाको घोषणा गरिए पनि अझसम्म उनीहरुको पुनःस्थापना नभएकामा चिन्ता र चासो व्यक्त गरिएको छ । आज बाँकेको कोहलपुर– २४ जिल्लामा आयोजित कार्यक्रममा नेपालमा ३७ हजार मुक्तकमैया पुनःस्थापना सम्बन्धमा सर्वपक्षीय चिन्ता व्यक्त गरियो ।

थारु आयोगले आयोजनामा भएको छलफल तथा अन्तक्र्रियामा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले मुक्तकमैया तथा हलिया र मुक्तकमलरीको तथ्याङ्क सङ्कलन गर्न कटिबद्ध भएर लाग्ने बताउनुभयो । उहाँले मुक्तकमैया हलिया मुक्तकमलरीको तथ्याङ्क सङ्कलन गरी राज्यलाई सिफारिस गर्ने, परिचयपत्र र लालपूर्जा वितरणका लागि माग गर्ने तथा उनीहरुको, गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चित गर्नका लागि राज्यसँग अुनरोध गरेपछि मात्रै समस्या समाधान गर्नसक्ने भएकाले राज्यको सबै सरोकारवालासँग समन्वय गरी समस्या समाधान गर्नसक्ने बताउनुभयो ।

सो समस्या समाधानका लागि सरकारको उच्चस्तरीय, केन्द्रीय तहको नीतिनिर्माणका लागि कार्यदल बनाउने नीतिगतरुपमा छलफल गरी कार्यान्वयनका लागि अघि बढ्नका लागि सिफारिस गर्ने बताउनुभयो । देशभर अव्यवस्थितरुपमा बासोबास गर्दै आएका मुक्तकमैया, मुक्तकमलरी, हलिया, सुकुम्बासीका लागि परिचयपत्र वितरण गरी व्यवस्थापन गर्न, लालपूर्जा वितरण गर्न जग्गा वितरण गर्न, कित्ताकाट गर्न नाप नक्शा गर्न राज्यलाई सिफारिस गर्ने आयोग अध्यक्ष चौधरीले बताउनुभयो ।

राजनीतिक दल र सरकार मिलेर नै कमैया कमलरीको अगुवा नेतासँग सहकार्य समन्वय छलफल गरी योजना बनाएर कार्यदल बनाई पुनःस्थापनाका लागि पहल गर्नेे अध्यक्षको भनाइ छ ।

सो कार्यक्रममा भूमिसुधार तथा मालमोत कार्यक्रमबाट मुक्तकमैया पुनःस्थापनासम्बन्धी जिल्लागत विवरण प्रदेश नं ५, ६ र ७ को हालको अवस्थाबारे जानकारी गराइएको थियो । दाङ जिल्लामा ३६ सय एक जना, मुक्तकमैया र दुई हजार ९४१ जना मुक्त कमलरीको तथ्याङ्क रहेको दाङ जिल्लाको भूमिसुधार तथा मालपोत कार्यालयको प्रमुख विनोद पौडेलले बताउनुभएको छ ।

त्यसैगरी बाँकेमा मुक्तकमैया दुई हजार २६७ जनामध्ये ७६३ जना मुक्तकमैया परिचयपत्र पाउन बाँकी रहेका जानकारीका निम्ति प्रमुख भूमिसुधार तथा मालपोत अधिकृत बाँकेका निमित्त प्रमुख रामचन्द्र भण्डारीले बताउनुभयो । त्यसैगरी बर्दियामा १६ हजार मुक्त कमैयामध्ये २८० जना परिचयपत्र पाउन बाँकी छन् भने ६० जना लालपूर्जा पाउन बाँकी छन् । बर्दियामा मुक्तकमलरी दुई हजार ४९५ जना छन् मुक्तकमैया पुनःस्थापनासम्बन्धी समस्या, विद्यमान अवस्था र समस्या समाधानका सम्बन्धमा आपसमा छलफल सङ्घीय सरकार प्रदेश र स्थानीय तहको समस्या समाधानका लागि केन्द्रीय तहमा माग गर्नुपर्ने बर्दियाका भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख भीमबहादुर खत्रीले बताउनुभयो ।

त्यसैगरी सो कार्यक्रममा कञ्चनपुरमा भूमिसुधार तथा मालपोत कार्यालयको कञ्चनपुरको प्रमुख खेमप्रसाद चौधरीले चार हजार ५०५ जना मुक्तकमैया रहेका छन् ७४१ जना मुक्तकमलरी रहेको बताउनुभयो । कैलाली जिल्लाको भूमिसुधार तथा मालपोत अधिकृत हरि चौधरीले जिल्लामा नौ हजार ६९७ जना मुक्तकमैया रहेको बताउनुभयो ।

छलफलका क्रममा सहभागीहरुले बहुसङ्ख्यकले थारु भाषा बोल्ने २४ जिल्लामा थारुको भाषा सरकारी कामकाजी भाषा हुनुपर्ने, सिकलसेल रोगीलाई निःशुल्क उपचार हुनुपर्ने तथ्याङ्क सङ्कलनमा थारुको नामावली छुटेकाको नाम मतदाता नामावलीमा सामावेश हुनुपर्नेमा जोड दिएका छन् । समानुपातिक सामावेशीका आधारमा प्रत्येक वडा तहमा स्थानीय, प्रदेश, सङ्घीय संरचना तथा संवैधानिक निकायमा थारुको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष विन्तीराम थारु बताउनुहुन्छ ।

‘‘चौबीस जिल्लामा प्रत्येक स्थानीय तहको प्रत्येक वडामा महिला सदस्य थारु जातिको हुनुपर्दछ’’ कञ्चनपुरको मुक्तकमैयाका नेत्री सुकमेली थारुले भन्नुभयो । कञ्चनपुरदेखि दाङसम्मको कमैया कमलरीलाई हलियालाई पाँच जिल्लामा कमैयाको समस्या ज्यूँका त्यूँ रहेको बताउँदै बाँके जिल्लाको मुक्तकमैयाका नेता फतुराम थारु भन्नुहुन्छ, ‘‘कमैया र हलियामा राज्यले विभेद अहिले पनि यथावतै छ । मुक्त कमैयाको घोषणा भएपछि विभिन्न सरकार फेरिए तर कमैयाको अवस्था फेरिएन ।’’

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.