टर्कीको जवाफी कारबाहीमा कम्तीमा ३० सिरियाली सैनिकको मृत्यु : एर्दोगान 

इस्तानबुल, २० माघ : टर्कीको सीमा क्षेत्र नजिक रहेको सिरियाली भूमिमा त्यहाँको सेनाविरूद्ध सोमबार गरेको जवाफी आक्रमणमा परी कम्तीमा ३० सिरियाली सैनिकको मृत्यु भएको टर्कीका अधिकारीले बताएका छन् ।

सिरियाको उत्तरपश्चिमी क्षेत्रमा पर्ने इद्लिब प्रान्तका सैनिकहरूलाई टर्कीबाट प्रतिआक्रमण भएको अधिकारीहरुले जनाएका छन् । सोमबार टर्कीका राष्ट्रपति तैयप एर्दोगानले इद्लिबमा रहेका आफ्ना जनता र दाजुभाई दिदीबहिनीको जीवन रक्षाका लागि आफूले संघर्ष गरिरहेको बताउनुभयो ।

इद्लिबमा सिरियाली सेनाले गरेको गोलाबारीका विरुद्धमा लगातार प्रतिआक्रमण गरिरहने पनि राष्ट्रपति एर्दोगानले बताउनुभयो ।

यसअघि सिरियाली मानव अधिकारवादी संस्था, सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले दिएको जानकारीमा टर्कीका हतियारधारी समूहको आक्रमणमा परी कम्तीमा छ सिरियाली सैनिक मारिएपछि सिरियाली सरकारी फौजले सिरियाको उत्तरपश्चिमी क्षेत्रमा तैनाद टर्कीको सेनामाथि आक्रमण गरेको थियो ।

उक्त आक्रमणमा टर्कीका थप चार सैनिक मारिएका थिए भने नौ जना घाइते भएका थिए । उनीहरु सिरियाली सुरक्षाकर्मीको आक्रमणमा इद्लिबमा मारिएको टर्कीका रक्षा मन्त्रीले बताएका छन् ।

टर्कीको सेनामाथि ‘भुलबस’ आक्रमण : रूस

सिरियामा द्वन्द्वरत पक्षहरूको मेलमिलापका लागि रूसी केन्द्रले सोमबार सिरियाको इद्लिब क्षेत्रमा टर्कीको सेनामाथि सिरियाले गरेको कारबाही ‘दुर्घटनाबस’ भएको बताएको छ ।

टर्कीको सेनामाथि इद्लिबमा आतङ्कवादी लडाकू भनेर सिरियाली सेनाले ‘दुर्घटनाबस’ कारबाही गरेको र आक्रमणमा टर्कीका केही सेनाको हताहत भएको रूसी केन्द्रले बताएको छ ।

टर्कीको सेनाको एक समूहले इद्लिबमा शुक्रबार रातिदेखि सिरियाली सेराकब गाउमा चहलपहल गरेको तर युद्धविराम सम्झौता अनुसार रूसलाई जानकारी नगराएका कारण ‘दुर्घटनाबस’ ‘टर्कीको सेनालाई नै आतङ्ककारी’ को चहलपहल मानेर सिरियाली सेनाले आक्रमण गरेको एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

रूस र टर्कीको पहलमा सिरियाको विद्रोही समूहको प्रभाव क्षेत्र मानिने इद्लिब प्रान्तमा युद्धविराम सहमति अनुसार टर्कीको सेना तैनाथ भएको छ भने यसको अनुगमन रूसी वायुसेनाले गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा टर्कीको सेनाले सिरियाको सीमापार नगरेको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.