यमनी विद्रोहीद्वारा बन्दक बनाइएका बालबालिकालाई उपचार गर्ने प्रतिबद्धता

साना, १३ माघ : यमनका हुथी विद्रोहीहरूले बन्दी बनाएका बालबालिकालाई पर्याप्त स्वास्थ्य सेवा दिने प्रतिबद्धता जनाएका छन् ।

भिडन्तका क्रममा नियन्त्रणमा लिइएका बालबालिकाहरूलाई पुनस्र्थापना केन्द्रमा पठाएर उपचार गराइएको उनीहरुले बताएका छन् । बन्दी बालबालिकालाई उपचार गराएर दुई महिनापछि रिहा गरिने पनि विद्रोहीले सोमबार बताएका छन् ।

राष्ट्रसंघीय श्रोतका अनुसार विद्रोहीहरुले नियन्त्रणमा लिएका ६४ जना सवै १८ बर्षभन्दा कम उमेरका रहेका छन् ।

नियन्त्रणमा लिइएका बालबालिकालाई उपचारका लागि पुनस्र्थापना केन्द्रमा पठाउने हुथी विद्रोहीको निर्णयलाई संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले स्वागत गरेको छ । हुथी बन्दीगृहका प्रमुख अब्दुलकदेर अल मुर्ताधाले सानामा एएफपीसँग भन्नुभयो, “ती सवै बालबालिकालाई नियन्त्रणमा राखिएको छ, सरकारी सेनासँग भएको भिडन्तका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।”

पुनस्र्थापना केन्द्रमा दुई महिना राखेपछि उनीहरुलाई विद्रोहीहरुको प्रशासनले सामाजिक मामिला मन्त्रालयमा हस्तान्तरण गर्ने मुर्ताधाले बताउनुभयो ।

द्वन्द्वग्रस्त मुलुक यमनमा सरकारी पक्ष र विद्रोही पक्षबीच सन् २०१५ को मार्चदेखि द्वन्द्व चलिरहेको छ ।

युनिसेफका प्रतिनिधि सारा बेयसोलोव न्यान्तीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, ”हुथी विद्रोहीले भिडन्तका क्रममा नियन्त्रणमा लिएका ६४ जना बालबालिकाहरुलाई पुनस्र्थापना केन्द्रमा पठाउने निर्णयको म स्वागत गर्दछु ।”

उहाँले बालबालिकाहरुलाई द्वन्द्वमा नपार्ने र युद्धका लागि प्रयोग नगर्ने कुरामा समेत हस्ताक्षर गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

इरानको समर्थन तथा सहयोग रहेको हुथी विद्रोही र यमन सरकारको सहयोग रहेको गठबन्धन सेनाबीच यमनमा पछिल्लो पाँच बर्षमा भएको द्वन्द्वका क्रममा दश हजारभन्दा बढी यमनी नागरिकको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.