‘बोइङ ७३७ लाई क्षेप्यास्त्रले खसालेको हुनसक्ने’ : यूक्रेनी राष्ट्रपति
किभ, २५ पुस : पश्चिमी मुलुकहरूद्वारा दावी गरिए अनुसार बुधबार इरानमा दुर्घटनाग्रस्त यूक्रेनी विमानलाई इरानी क्षेप्यास्त्र लागि खसेको हुनसक्ने तर यो कुरा पुष्टि नभएको यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार बताउनुभएको छ ।
संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत) र क्यानाडाले उनीहरूको दावीलाई पुष्टि गर्न प्रमाण उपलब्ध गराउन पनि उहाँले आग्रह गर्नुभयो ।
विमान दुर्घटना हुनुमा जहाजमा नै प्राविधिक समस्या देखिएको तेहरानले दावी गरेको छ तर अमेरिका, बेलायत र क्यानडाका अधिकारीहरूले विमानलाई क्षेप्यास्त्रले लागेको श्रव्यदृश्य आफूहरूसँग उपलब्ध रहेको बताएका छन् ।
यूक्रेनी राष्ट्रपतिले भन्नुभयो, “हामी हाम्रा यूक्रेनी प्रतिनिधिसँग निरन्तर सम्पर्कमा रहेका छौँ । विमानमा क्षेप्यास्त्रले लागेको भन्ने दावीलाई खारेज गर्न सकिन्न तर शुक्रबारसम्म दावी पुष्टि भएका छैनन् ।”
अमेरिका, बेलायत र क्यानाडा सरकारद्वारा जारी गरेका विज्ञप्तिलाई लिएर हामीले उनीहरूलाई घटनाबारे अनुसन्धानरत आयोगसमक्ष तथ्य प्रस्तुत गर्न आग्रह गर्दछौँ ,जेलेन्स्कीले टेलिग्राम ब्लगमा लेखेको रूसी समाचार संस्था स्पुटनिकले उल्लेख गरेको छ ।
चालक दलका नौ सदस्यसहित १७६ जना लिएर इरानको राजधानी तेहरानबाट यूक्रेनका लागि उडेको केही मिनेटमा विमान इरानमा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटना हुनुभन्दा केही मिनेट पहिले इरानले इराकस्थित अमेरिकी शिविरलाई लक्षित गरी आक्रमण गरेको थियो ।
विमान दुर्घटनाबारे जारी अनुसन्धानका बिषयमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग कुराकानी गर्ने जेलेन्स्कीले बताउनुभयो ।
इरानद्वारा अमेरिकी दावीको खण्डन
इरानले शुक्रबार आफ्नो राजधानी तेहरानको नजिक दुर्घटना भएको युक्रेनी विमानलाई इरानद्वारा इराकतर्फ प्रक्षेपण गरिएको क्षेप्यास्त्रले झारेको भन्ने अमेरिकाको दावीलाई खण्डन गरेको छ ।
विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको भन्दै यसबारे अहिल्यै केही भन्न नसकिने तर अमेरिकालगायतका उसका सहयोगीहरूले दावी गरेजस्तो विमानमा इरानी क्षेप्यास्त्र लागेको भन्ने दावी ‘गलत’ रहेको इरानले बताएको छ ।
इरानको नागरिक उड्डयन संगठन, दुर्घटना विभागका प्रमुख हसन रजाइलाई उद्धृत गरिएको एक फरक रिपोर्टमा इरानले आफ्नो मेहरावाद अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको प्रयोगशालामा दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याकबक्स’ को अनुसन्धान शुरू गर्ने बताएको छ ।
यूक्रेनी विमान तेहरान नजिकै दुर्घटनाग्रस्त भएको थियो भने विमानमा यात्रा गरिरहेका १७६ जनाको घटनास्थलमा नैे मृत्यु भएको थियो । इराकमा रहेको अमेरिकी सैनिक शिविरहरूलाई लक्षित गरी इरानले हवाई आक्रमण गरेको केही समयपछि नै विमान दुर्घटनाग्रस्त भएको थियो ।
तेहरानले विमान दुर्घटना हुनुको कारण प्राविधिक समस्या उल्लेख गरेको छ तर अमेरिका, बेलायत र क्यानाडाली अधिकारीहरूले युक्रेनी विमानलाई इरानले हानेको क्षेप्यास्त्रले खसालेको बताइएको छ ।
