इरानमा भएको विमान दुर्घटनामा ८२ इरानी र ६३ क्यानेडालीको मृत्यु
किभ, २३ पुस : इरानमा बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका मध्ये ८२ जना इरानका र ६३ जना क्यानडाका नागरिक रहेका पाइएको छ ।
इरानको राजधानी तेहरानबाट बुधबार बिहान उडेको युक्रेनको विमानमा परी उनीहरुको मृत्यु भएको युक्रेनका एक मन्त्रीले जनाएका छन् ।
विमानमा अरु ११ जना युक्रेनका नागरिक, १० जना स्विडेनका नागरिक, चार जना अफगानिस्तानका नागरिक, तीन जना जर्मनका नागरिक र तीन जना बेलायतका नागरिक रहेका युक्रेनका विदेशमन्त्री भाड्याम प्रयस्तैकोले ट्विटरमा लेख्नु भएको छ ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोडीमीर जेलेन्क्सीले दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले मृतकका आफन्तप्रति सहानुभूति व्यक्त गर्दै समवेदना पनि व्यक्त गर्नुभएको छ ।
युक्रेनको बोइङ–७३७ विमान बुधबार तेहरानको इमाम खामेनी विमानस्थलबाट उडेको केही बेरमा दुर्घटना भएको थियो ।
विमानमा कम्तीमा १६७ जना यात्रु र अरु नौ जना चालक दलका सदस्य गरी कुल १७६ जना रहेका र उनीहरु सबैको मृत्यु भएको पुष्टि भइसकेको अधिकारीले जनाएका छन् ।
विमानस्थलका प्रवक्ता अलि कसानीले विमानमा रहेका सबैको मृत्यु भएको पुिष्ट गर्नुभएको हो । उहाँले प्राविधिक गडबडीका कारण विमान दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको पनि बताउनुभयो ।
दुर्घटनाग्रस्त अमेरिकी विमानको ‘ब्लाक बक्स’ अमेरिकालाई नदिने इरानको भनाइ
इरानको उड्ययन प्राधिकरणले इरानमा बुधबार दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ अमेरिकालाई नदिने बताएको छ ।
अमेरिकी बहुराष्ट्रिय बोइङ कम्पनीद्वारा निर्मित बोइङ ७३७ को यूक्रेनी विमान इरानको राजधानी तेहरानबाट उडेको केही समयमा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित यसमा यात्रा गरिरहेका १७६ जनाको मृत्यु भएको छ ।
इरानको नागरिक उड्ययन संगठनका प्रमुख अलि अबेद्जादेहलाई उद्धृत गरी मेहर न्यूज एजेन्सीले उल्लेख गरेको छ, “हामीले ‘ब्लाक बक्सहरू’ निर्माण कम्पनी वा अमेरिकालाई दिने छैनौ ।” उहाँले भन्नुभयो, “ब्लाक बक्स अनुसन्धानका लागि कुन देशमा पठाउने भन्ने बिषयमा अझै निर्णय गर्न बाँकी छ ।”
यूक्रेनको अन्तर्राष्ट्रिय विमान सेवाको उडान नम्बर पीएस७५२ विमानस्थलबाट छुटेको केही समयभित्र दुर्घटना भएको र दुर्घटनाको केही समयभित्र नै ‘ब्लाक बक्स’ भेटिएको इरानले बताएको छ ।
अबेद्जादेहले भन्नुभयो, “अन्तर्राष्ट्रिय उड्ययन कानूनमा आधारित भएर इरानले ‘ब्लाक बक्स’ अनुसन्धानका लागि अमेरिकालाई दिने वा नदिने इरानको अधिकारको कुरा हो ।”
इरानी अधिकारीका अनुसार इरानी उड्ययन संगठनले ‘ब्लाक बक्स’को अनुसन्धान गर्नेछ तर यस अनुसन्धानमा यूक्रेनी प्राबिधिकहरू उपस्थित रहन सक्नेछन् ।
‘ब्लाक बक्स’ को अनुसन्धान र व्याख्याका लागि खासगरी बेलायत, फ्रान्स, जर्मनी र अमेरिका विश्वसनीय मुलुक मानिन्छन् ।
