गोकर्णेश्वर उत्तरगयामा बालागुरु, योगमायाको सालिक निर्माण शुरु
काठमाडौँ, २३ पुस : आबाल ब्रह्मचारी बालागुरु षडानन्द, दण्डीस्वामी प्रेमनारायण र महानन्दले साधना गर्नुभएको गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्रमा चारै जनाको सालिक निर्माण शुरु भएको छ ।
गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तरगयाका रूपमा चिनिने वाग्मती उत्तरतिर बगेको उत्तरवाहिनीमा स्थापित कान्तिभैरव गुरुकुलले चारैजना व्यक्तित्वको सालिक निर्माण गर्न लागेको संस्थापक प्रा डा ऋषिराम पोखरेलले राससलाई जानकारी दिनुभयो ।
गुरुकुलका आजीवन सदस्य, तपस्वी एवं साधक स्व हिरण्यप्रसाद भण्डारीको सोचअनुसार चारैजना साधुको सालिक निर्माण शुरु गरिएको गुरुकुलले जनाएको छ । भण्डारीको निधनले संस्कृत वाङ्मयको विकासमा अपूरणीय क्षति पुगेको उहाँले बताउनुभयो । पण्डित भण्डारीको निधनमा आज गुरुकुलमा आयोजित शोकसभामा उहाँले उत्तरगया क्षेत्रको विकासमा पु¥याउनु भएको योगदानको चर्चा गरिएको थियो ।
पण्डित हिरण्यप्रसादको १०३ वर्ष आठ महिनाको उमेरमा पुस १५ गते काठमाडौँमा निधन भएको थियो । १०३ वर्षमा निधन हुनुभएका भण्डारी धर्म संस्कृति र संस्कृत वाङ्मयको जिउँदो इतिहास रहनुभएको प्रा डा पोखरेलले बताउनुभयो । आवाल ब्रह्मचारी श्री १००८ षडानन्द, श्री १००८ योगमाया, श्री १००८ दण्डिस्वामी प्रेम नारायण र श्री १००८ महानन्दका सम्बन्धमा पूर्ण जानकारी राख्ने भण्डारीले उहाँहरुको सान्निध्यमा रहेर साधनासमेत गर्नुभएको थियो ।
गुरुकुलका आचार्य डा श्रीराम अधिकारीले उत्तरवाहिनीमा तपस्याका क्रममा ब्रह्मलीन हुनभएका श्री १००८ महानन्द भण्डारीको चाहनाअनुसार उहाँका पुत्र स्व हिरण्यप्रसादले उत्तरबाहिनी क्षेत्रको विकासमा योगदान पु¥याउनुभएको स्मरण गर्नुभयो । भगवान् विष्णुको दायाँ पाउको पदचिन्ह रहेको गोकर्णेश्वर उत्तरगया क्षेत्रलाई चिनाउन स्व भण्डारीले महत्वपूण भूमिका खेल्नुभएको उहाँले सुनाउनुभयो ।
नेपाल भ्रमण वर्ष २०२० मा गोकर्णेश्वर उत्तरगया क्षेत्रको महत्वलाई प्रचारप्रसार गर्न सके धार्मिक पर्यटक आउने भएकाले त्यसतर्फ हालसम्म स्थानीय, प्रदेश र केन्द्रीय सरकारको ध्यान जान नसकेको कार्यक्रमका वक्ता एवं सहभागीको गुनासो थियो ।
धार्मिकरूपमा गया भनेर चिनिने भारतीय तीर्थस्थलभन्दा गोकर्णेश्वर उत्तरगयाको महत्व बढी भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस क्षेत्रको अनुसन्धानमा लाग्नुभएका गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ बताउनुभयो ।
उत्तरवाहिनीस्थित सिद्ध गुफामा बालागुरु षडानन्द, योगमाया, दण्डिस्वामी प्रेमनारायण, महानन्दलगायतले साधना गर्नुभएको उत्तमप्रसाद पन्तले लेख्नुभएको ‘योगमायाधाम’, नीलम कार्की ‘निहारिका’ले लेख्नुभएको मदन पुरस्कार प्राप्त उपन्यास ‘योगमायाधाम’ मा पनि चर्चा गरिएको छ ।
उत्तरवाहिनीको सिद्ध गुफामा आजकाल पनि साधना गर्न साधु सन्त टाढाटाढाबाट आउने गर्नुभएको गुरुकुलका आचार्य अधिकारीले सुनाउनुभयो । गुफाको प्रचारप्रसार गरी योग पर्यटनको विकास गर्न सकिने जनाइएको छ । 
