अतिवादीको आक्रमणमा आठ जनाको मृत्यु 

नैरोबी, २१ मङ्सिर : अफ्रिकी मुलुक सोमालियामा सक्रिय अल–शबाब समूहले बसमा गरेको आक्रमणमा उत्तरपूर्वी केन्यामा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

केन्याका राष्ट्रपति उहुरु केन्याटालाई यस आततायी घटनाका बारेमा जानकारी गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस आक्रमणमा केही सुरक्षाकर्मीको पनि मृत्यु भएको छ । एक जना वरिष्ट प्रहरी अधिकारीले आक्रमणमा कम्तीमा सात जना प्रहरीको हत्या भएको बताएका छन् ।

अल–शबाबले एक विज्ञप्ति प्रकाशर गरी सुरक्षाकर्मी र सरकारी कर्मचारी गरी १० जनाको हत्या गरिएको भन्दै जिम्मेवारी लिएको छ । यो आक्रमण भएको स्थान सोमालियासँग सीमा जोडिएको केन्याली भूमि हो । यस क्षेत्रमा नियमित झैं अल–शबाबले आक्रमण गरिरहेका छन् ।

गत जुन १५ मा वजिर काउन्टीमा पनि कम्तीमा आठ जना प्रहरी सुरक्षाकर्मीको हत्या भएको थियो ।

अल–कायदासँग आबद्ध अल–शबाबले अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सोमाली सरकारलाई विस्थापित गर्न सशस्त्र हिंसात्मक आन्दोलन गरिरहेको छ । केन्याले सन् २०११ मा दक्षिणी सोमालियामा विद्रोही नियन्त्रणका लागि सेना पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.