राष्ट्रपतिकै नेतृत्वमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

कम्पाला, १८ मङ्सिर : युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले बुधबार भ्रष्टाचारविरुद्धको बृहत् ¥यालीको नेतृत्व गर्नुभएको छ ।

पूर्वी अफ्रिकी मुलुक युगाण्डाको राजधानीमा बुधबार भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन कार्यक्रमको आयोजना गरिएको थियो ।

राष्ट्रपति मुसेभेनीले झण्डा फहराउँदै भ्रष्टाचारविरोधी जुलुसमा झण्डै चार किलोमिटर पैदल यात्रा गर्नुभएको थियो ।

“भ्रष्टाचाररहित युगाण्ड मैबाट शुरु गर्छु” भन्ने मूल नारासहित भ्रष्टाचारविरुद्धको प्रदर्शनको आयोजना गरिएको थियो ।

राष्ट्रपति मुसेभेनीले नेतृत्व गरेको प्रदर्शनमा उपराष्ट्रपति इड्वार्ड स्सेकान्दी, सभामुख रेबेका काडागा, प्रधानन्यायाधीश बार्त कातुरीबे, धार्मिक नेताहरू, सरकारी उच्च पदस्थ अधिकारीहरू, आम नागरिकसहित सयौँ सहभागी भएका थिए ।

प्रदर्शन कन्सीच्युस्नल स्वायरबाट शुरु भई कोलोलो स्वतन्त्र मैदानमा पुगेको थियो । प्रदर्शनका कारण कैयौँ घण्टा सडकमा सवारी साधन रोकिएको थियो ।

देशको मुख्य समस्याका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरण गर्ने अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदर्शनको आयोजना गरिएको आयोजकहरूले बताएका छन् ।

भ्रष्टाचारविरुद्धको अभियानको सुरुआत सन् २०१८ को डिसेम्बर १० तारिखका दिन राष्ट्रपति मुसेभेनीले नै गर्नुभएको थियो ।

अभियानअन्तर्गत सर्वसाधारण र सरकारी अधिकारीहरूलाई भ्रष्टाचार गर्न निरुत्साहित गर्ने विभिन्न कार्यक्रमहरू गरिएको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूका अनुसार यस अवधिमा ५८ हजार ४१५ वटा उजुरी परेका थिए भने ८ हजार २२ वटा उजुरीको सम्बोधन गरिएको छ ।

कम्तीमा १११ जनालाई अदालतले दोषी ठहर गर्दै कारबाहीका लागि आदेश दिएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.