बोलिभियाको राजनीतिक सङ्कट अन्त्य र नयाँ निर्वाचनका लागि मतदान

लापाज, ७ मङ्सिर : बोलिभियाको संसदले नयाँ निर्वाचनका लागि मार्ग प्रशस्त गर्ने प्रस्तावमाथि मतदान गर्ने भएको छ । मतदानको तयारी भइरहँदा शनिबार अन्तरिम सरकारले सडकमा विरोधमा उत्रिएका प्रतिपक्षी दलका नेताहरूलाई भेट्ने कार्यक्रम तय भएको छ ।

अक्टोबरमा २० मा सम्पन्न निर्वाचनप्रति असन्तुष्टि जनाउँदै गरिएका प्रदर्शनका क्रममा ३२ जनाको ज्यान गुमेको छ । राजधानी लापाजलगायतका प्रमुख शहरमा भएका आन्दोलनका कारण निम्तिएको इन्धन तथा खाद्यान्न सामग्रीको अभावपछि सरकारले निर्वाचनमा जाने वा नजाने बिषयमा मतदान गर्नेगरी पछिल्लो कदम चालेको हो ।

अन्तरपार्टी आयोगले रातारात एकमतले अनुमोदन गरेको प्रस्तावमाथि बोलिभियाको सिनेट (संसदको माथिल्लो सभा)ले शनिबार नै मतदान गर्ने सिनेटले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेको छ ।

यदि सिनेटबाट प्रस्ताव पास भएमा प्रस्तावलाई संसदको तल्लो सभामा मतदानका लागि पठाइनेछ । तर निर्वाचनमा जाने तयारीसाथ प्रस्तावित यस विधेयकले कानूनीरूप ग्रहण गर्नका लागि राष्ट्रपति जिनाइन अनेजको हस्ताक्षर (सहमत) हुनुपर्छ

नयाँ निर्वाचनले बोलिभियाको विगत १६ बर्षदेखि जारी राजनीतिक असमझदारीलाई अन्त्य गर्ने अपेक्षा गरिएको छ । विगत केही बर्षदेखि शहरी क्षेत्रमा बसोबास गर्ने मध्यम तथा उच्च वर्गीय समुदाय र ग्रामिण क्षेत्रमा प्रभाब भएका पूर्व राष्ट्रपति इभो मोराल्जका समर्थकबीच द्वन्द्व चर्किएको छ ।

मोराल्जले अक्टोबरमा २० मा सम्पन्न निर्वाचनमा बहुमत प्राप्त गरेको र पाँचौँ कार्यकालका लागि जनमत पाएको दावी गर्दै आउनुभएको छ भने प्रतिपक्षीहरूले निर्वाचनपछि मतगणनामा धाँधली गरिएको दावीसहित सडकमा उत्रेका छन् ।

अमेरिकी मुलुकहरूको वासिङ्टनस्थित एक संगठनले निर्वाचनको मतगणनामा अनियमितता भएको जनाएको छ ।

बोलिभियामा कामचलाउ सरकारले पूर्व राष्ट्रपति मोराल्जविरूद्ध ‘राजद्रोह र आतङ्कवाद’लाई प्रोत्साहन गरेको भन्दै अदालतमा आरोप दर्ता गरेका छन् । मोराल्जले आफ्ना समर्थकलाई शहरमा घेराबन्दी गर्न आह्वान गरेको आरोप छ ।

मोराल्जले नोभेम्बर १० मा राजिनामा दिई सुरक्षाका लागि मेक्सिको पुग्नुभएको छ । उहाँलाई मेक्सिकोले राजनीतिक शरणार्थीको मान्यता दिएको छ । यदि मोराल्जमाथिको आरोप पुष्टि भएमा वा दोषी प्रमाणित भएमा ३० वर्षसम्मको अत्यधिक सजाय भोग्नु पर्नेहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.