उपचारका लागि विदेश जान सरिफलाई पाकिस्तानी सरकारको अनुमति

इस्लामाबाद, २७ कात्तिक : पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचारका लागि विदेश जान पाकिस्तानी सरकारले बुधबार अनुमति दिने निर्णय गरेको छ ।

उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर उहाँलाई उपचारका लागि विदेश जान अनुमति दिने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

पाकिस्तानको तीन पटक प्रधानमन्त्री भइसक्नु भएका सरिफ भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिँदै जेल सजाय भोगिरहनु भएको छ ।

कारागारमै रहेका बेला गम्भीर बिरामी भएको विवरण सार्वजनिक भएपछि पाकिस्तानको एक अदालतले केही दिन अगाडि उहाँलाई कारागारबाट बाहिर निकालेर अस्पताल लगेर उपचार गराउन आदेश दिएको थियो ।

अदालतको आदेशपछि उहाँलाई केही दिन अस्पतालमा राखेर उपचार गराइएको थियो भने त्यसपछि अति सघन कक्ष (आईसीयू) र चिकित्सकहरूको टोली उहाँकै निवासमा व्यवस्था गरिएको थियो ।

स्वदेशमा गरिएको उपचार पर्याप्त नभएको ठहर गरेर उहाँलाई थप उपचारका लागि लण्डन लैजाने तयारी भइरहेका बेला उहाँलाई सरकारले लण्डन जान अनुमति दिएको हो ।

उहाँलाई उपचारका लागि विदेश बस्न चार हप्ताको समय तोकिएको एक मन्त्रीले पत्रकारहरूलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.