तेलचित्रमा आधारित बुद्धको वृत्तचित्र र चलचित्र बनाइने  

काठमाडौँ, २६ कात्तिक : चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले गौतमबुद्धको तेलचित्र (ओइल पेन्टिङ) बनाई सोही कथामा आधारित वृत्तचित्र र चलचित्र निर्माण गर्ने भएको छ ।

नेपाल भ्रमणका क्रममा रहेका उक्त कम्पनीका प्रतिनिधिले नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन सो योजना बनाइएको जनाएका छन् । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी प्रमुख हु जिझोङले नेपाल र चीनको ऐतिहासिक सम्बन्ध झल्काउने गरी चलचित्र बनाउन लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सहयोग पुग्ने गरी दुई सुन्दर चित्र बनाउनेछौँ ।” राजकुमार सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुअघिकोे शारीरिक बनावटको झल्को दिने गरी वास्तविक तेलचित्र बनाएर प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । चित्र बनाइसकेपछि नेपाल सरकारलाई उपहारस्वरुप दिने प्रमुख हुले जानकारी दिनुभयो ।

चीनका चित्रकार वाङ मिङले लुम्बिनीमा उक्त चित्र बनाउने बताउनुभयो । वृत्तचित्र आगामी मार्च महिनाबाट छायाङ्कन शुरु हुने उहाँले बताउनुभयो । निर्माण भइसकेपछि नेपाल, चीनलगायत अन्य देशमा हुने चलचित्र महोत्सवमा प्रदर्शन गरिने उहाँको भनाइ छ । वृतचित्रको प्रदर्शनपछि सोही तेलचित्र चोरिएको विषयलाई लिएर ठूलो पर्दाको चलचित्र बनाउने कम्पनीको योजना छ । उक्त चलचित्रमा नेपालका तर्फबाट अभिनेता रेश मरहठ्ठालाई मुख्य भूमिकामा अनुबन्ध गरिएको हुले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मुख्य भूमिकामा रेशलाई खेलाउने सहमति भएको छ, अर्को महिना बेइजिङमा हाम्रो औपचारिक सम्झौता हुनेछ ।” अभिनेता रेशले आफू यसरी नेपालबाट चीनले बनाउने फिल्ममा छनोट हुन पाउँदा गर्व लागेको बताउनुभयो । चलचित्रमा छनोट हुनु भनेको नेपाल र नेपालीको सम्मानको विषय भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.