अजरबैजानमा नाम सम्मेलन सुरु
बाकु, ८ कात्तिक : असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलन शुक्रबार अजरबैजानमा सुरु भएको छ ।
अजरबैजानको राजधानी बाकुमा रहेको बाकु सम्मेलन केन्द्रमा औपचारिक उद्घाटन भएको हो ।
सम्मेलनमा असंलग्न राष्ट्रहरुको चुनौती र अवलम्बन गर्नुपर्ने रणनीतिहरूका बारेमा छलफल सुरु भएको सम्मेलनमा सहभागीले जनाएका छन् ।
दुई दिनसम्म चल्ने सम्मेलनमा भेनेजुएला, इरान, पाकिस्तान, क्युवा, अफ्गानिस्तान, अफ्रिकी मुलुकहरु लगायत झण्डै ६० देशका प्रतिनिधिहरु सहभागी भएका छन् ।
सम्मेलनमा कतिपय अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिहरु पनि संलग्न रहेको समाचारमा जनाइएको छ ।
विश्वका १२० देश सदस्य रहेको नामले विश्वको ५५ प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने मानिएको छ । नामका लागि १७ देश र १० अन्तर्राष्ट्रिय संस्थाहरु पर्यवेक्षकका रूपमा रहेका छन् ।
सन् २०११ मा नामको पूर्ण सदस्य भएको अजरबैजानले सन् २०१९ देखि २०२२ सम्म अध्यक्षता गर्न लागेको छ । यसअघि नामको अध्यक्षता भेनेजुएलाले सन् २०१६ देखि गरेको थियो । नाम सम्मेलन हरेक तीन बर्षमा हुने गर्दछ ।
यसलाई असंलग्न राष्ट्रहरुको विदेश नीति, राजनीति, सुरक्षा, विकासलगायतका विषयमा छलफल गर्ने मञ्चका रुपमा लिने गरिएको छ ।
सम्मेलनमा सहभागी हुन भेला भएका विश्वभरका नेताहरूले एक आपसमा सहकार्य र सम्बन्ध सुधार तथा बिस्तारका लागि पनि छलफल गर्ने गरेका छन् ।
सम्मेलनबाट १७औँ शिखर सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयनका दिशामा भएका प्रगति एवं समीक्षा गरी बाकु घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ ।
१८औँ नाम शिखर सम्मेलनको बाकु घोषणापत्रको मस्यौदा तयार भइसकेको र नामका सदस्यहरुले विश्व प्रणालीमा अझ बढी भूमिका निर्वाह गर्न सदस्य राष्ट्रहरूबीचको सहकार्य र एकतालाई थप बलियो बनाउनुपर्ने विषय घोषणापत्रमा रहेको बताइएको छ ।
शिखर सम्मेलनको मुख्य दस्तावेजका रूपमा रहने बाकु घोषणापत्र सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको अनुमोदनपछि शनिबार जारी हुँदै सम्मेलनको समापन हुनेछ ।
