भारतीय राष्ट्रपति कोविन्द बुल्गेरियामा
सोफिया, २० भदौ : बुल्गेरियाका राष्ट्रपति रुमेन राडेभले भारतीय समकक्षीसँग बुधबार भेटवार्ता गर्नुभएको छ ।
युरोप भ्रमणमा रहनु भएका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग उहाँले दुई पक्षीय हित र समसामयीक विषयमा छलफल गर्नुभएको थियो ।
विगत १५ वर्षपछि कोविन्दले नै पहिलो पटक भारतीय राष्ट्रपतिको रूपमा बुल्गेरियाको भ्रमण गर्नुभएको हो ।
दुई पक्षीय भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा राडेभले दुई पक्षीय कूटनीतिक विषयसँगै आर्थिक, व्यापारिक, विज्ञान, शिक्षा, लगानी, पर्यटन, संस्कृतिलगायत आदान प्रदान गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
भारतका राष्ट्रपति कोविन्द आइतबार युरोपका तीन देशको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
आठदिने भ्रमणका क्रममा उहाँले बुल्गेरियासहित साइप्रस र चेक गणतन्त्रको पनि भ्रमण गर्नुहुने भारतको विदेश मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति कोविन्दका साथ कृषिराज्य पुरुषोत्तम खोडाभाइ रूपाला र दुई जना सांसद राम शकल र अनिल बलुनीसहित केही उच्च सरकारी अधिकारी रहनुभएको छ ।
