टर्कीमा बम विस्फोटन

अंकारा, ८ असोज : टर्कीको अडाना प्रान्तमा सडक किनारामा थापिएको बम बुधबार विस्फोट हुँदा पाँच जना घाइते भएका छन् ।

प्रहरीका अनुसार प्रहरी बोकेको एउटा बस बम आक्रमणमा परेको हो । प्रान्तका गभर्नर महमुत डेमिर्टासले अडानमा भएको विस्फोटका बारेमा छानबिन शुरु भइसकेको जानकारी दिनुभयो ।

उहाँले घाइते भएकाहरुमा एक जना प्रहरी अधिकृत रहेको जानकारी दिँदै अरु घाइतेहरु सामान्य अवस्थामा रहेको बताउनुभयो । घाइते भएका अरु चार जना बाटोमा हिँड्ने पैदल यात्रु रहेको गभर्नर डेमिर्टासले जानकारी दिनुभयो ।

टर्किस सञ्चार माध्यमले बसमा क्षति पुगेको तस्वीर सार्वजनिक गरेका छन् । गभर्नर डेमिर्टासले बम विस्फोटन गराउने समूहका बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

टर्कीमा सन् २०१५ र २०१६ मा शृंखलाबद्ध बम आक्रमण भएका थिए जसका कारण सयौं व्यक्ति मारिएका थिए । यी आक्रमणहरु अतिवादी इस्लामिक स्टेट्स समूह र कुर्दिस विद्रोही समूहले गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.