इन्द्रजात्रा अवलोकन गर्न छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आउँदै

काठमाडौँ, २६ भदौ : इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउँदै हुनुहुन्छ ।

भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

“भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले इन्द्रजात्रामा विभिन्न देशका पाहुनालाई आमन्त्रण गरिएको छ”, उहाँले भन्नुभयो, “यो कार्यक्रमबाट नेपाली संस्कृतिलाई विश्वमा चिनाउन मद्दत पुग्नेछ ।”

पाँच दिनसम्म बस्ने उनीहरुलाई विभिन्न स्थानमा घुमाउने योजना तय भएको छ । महानगरपालिकाका बहाल, बहीसँगै काठमाडौँ जिल्लाका अरु नगरपालिका ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिका घुमाउने गरी योजना बनाइएको प्रमुख शाक्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “महानगरपालिकाले यसका लागि गरिने खर्च पर्यटन प्रवद्र्धनका लागि महानगरको लगानी हो, यो लगानीबाट भोलि उपत्यकावासीले लाभ पाउनेछन् ।” यस वर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका छ देशका १३ वटा नगरबाट ४८ पाहुना आउने निश्चित भएको प्रमुख शाक्यले बताउनुभयो । सात महीना पहिलेदेखि नै इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका नगरप्रमुखलाई निमन्त्रणा पठाउन थालिएको थियो । निमन्त्रणाका आधारमा अहिलेसम्म चीनको ल्हासाका प्रमुख गुहेओ गुहेओ, बङ्गलादेशको ढाका साउथ सिटी कर्पोरेशनका प्रमुख मोहम्मद शहीद खोकन, भूटानको थिम्पु नगरका प्रमुख किन्ले दोर्जे, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेशनका प्रमुख अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट प्रमुख सरदार अभतार सिंहको नेतृत्वमा टोली आउने बताइएको छ ।

चीनबाट सियान, छेन्दु, सेञ्जेन, नाञ्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकवर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा टोली आउने महानगरले जनाएको छ ।

बिहीबार आइपुग्ने पाहुनालाई शुक्रबार हनुमानढोका आसपास कुमारी रथयात्रामा सहभागी गराइने प्रमुख शाक्यले जानकारी दिनुभयो । सो क्रममा तल्लो र माथिल्लो टोलको स्थलगत भ्रमण अवलोकन गराइनेछ भने मध्याह्न राष्ट्रप्रमुखको उपस्थितिमा हुने रथयात्राको प्रत्यक्ष अवलोकन गराइनेछ । आगामी शनिबार चन्द्रागिरि, छाउनीको प्राकृतिक सङ्ग्रहालय र स्वयम्भूको अवलोकन गर्ने योजना बनाइएको छ । आइतबार भक्तपुर र पाटन दरबार क्षेत्रको भ्रमण अवलोकन गराइने त्यसै दिन साँझ बिदाइ गरिने प्रमुख शाक्यले बताउनुभयो । त्यस समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि सहभागी हुनुहुनेछ ।

अन्तरराष्ट्रिय जगत्मा इन्द्रजात्राको मौलिक र दार्शनिक पक्षको उजागर गर्न मात्र नभएर नगरवासीको सभ्यता चिनाउने कामका लागि पनि सबै मिलेर लाग्नुपर्नेमा प्रमुख शाक्यको जोड छ । यो पर्वलाई सभ्य, भव्य र सुसंस्कृत बनाउँदै व्यापक बनाउने महानगरको योजना छ । उहाँले भन्नुभयो, “नेवार समुदायको मात्र होइन, यो सबै नेपालीको राष्ट्रिय पर्व हो भन्ने भावना जागृत गराउनुपर्छ ।”

मङगलबार बिहान ९ बजेर १७ मिनेटको साइतमा वसन्तपुर काल भैरव अगाडि विधिपूर्वक इन्द्रध्वज (नेपाल भाषामा यः सी) ठड्याएपछि यस वर्ष इन्द्रजात्राको कार्यक्रम विधिवत् शुरु भएको छ । इन्द्रध्वज ठड्याउनुअघि नेवार समुदायभित्रका मानन्धर थरका थकालीले पूजा गरेका थिए । हिजो नै नेवार समुदायका मानिसले काँचो माटोको दियोमा बत्ती बालेर उपाकु पर्व मनाए । हिजै साँझ गणेश र भैरवलाई कुमारी घरमा ल्याइयो । त्यसपछि कुमारी, भैरव र गणेशलाई तलेजु भवानी मन्दिरको मूलद्वारमा लगेर लसकुस गरी भित्र लगेर तलेजु भवानीलाई निम्तो दिइयो । सरकारले गत सोमबार एकादशीका दिन आफ्नोतर्फबाट गणेश र भैरवलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा दिइएको थियो ।

यस वर्ष शुक्रबार कुमारी रथयात्रा शुरु गरेर वसन्तपुरबाट तल्लो टोलमा रथयात्रा गरिनेछ । त्यसक्रममा साँझ साढे ४ बजे राष्ट्रपति वसन्तपुरमा पुगेर कुमारीको दर्शन गर्ने कार्यक्रम छ । शनिबार माथिल्लो टोलमा रथयात्रा हुनेछ । यस अवधिमा लाखे, हलचोक भैरव, पुलुकिसी, देवीलगायत तान्त्रिक विद्यामा आधारित नाच र दश अवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन हुनेछन् । मङ्गलबार हुने नानिचा यात्रासँगै त्यसै दिन साँझ ९ः३५ को साइतमा इन्द्रध्वज ढालेपछि यस वर्षका लागि जात्राका औपचारिक कार्यक्रम समाप्त हुनेछ ।

रकम अभावले इन्द्रजात्रा मनाउन समस्या

रकम अभावकै कारण इन्द्रजात्रा पर्व मनाउन समस्या हुँदै आएको छ । सरकार र महानगरले सीमित मात्रामा मात्रै बजेट निकासा गर्दा इन्द्रजात्रा सञ्चालनका लागि व्यक्तिगत रूपमा सहयोग माग्नुपर्छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले प्रत्येक वर्ष आफूहरुले सहयोग रकमबाटै जात्रा सञ्चालन गर्दै आएको बताउनुभयो ।

उहाँका अनुसार यस वर्षको जात्रा सञ्चालनका लागि सरकारबाट रु १४ लाख र काठमाडौँ महानगरपालिकाबाट रु १० लाख गरी रु २४ लाख सहयोग भएको छ । गुठी संस्थानले जात्राका लागि आवश्यक केही सामग्री मात्रै सहयोग गर्छ भने अन्य खर्च समिति आफैँले व्यवस्थापन गर्दै आएको छ । इन्द्रजात्रामा वसन्तपुर क्षेत्रका २९ गुठीले सहकार्य गर्दै आएका छन् ।

इन्द्रजात्रा भदौ २४ गतेदेखि शुरु भएको छ । वसन्तपुर क्षेत्रको तल्लो टोल र माथिल्लो टोलमा आठ दिनसम्म इन्द्रजात्रा मनाइन्छ । तल्लो टोलअन्तर्गत वसन्तपुरदेखि देब्रेपट्टि तथा माथिल्लो टोलभित्र दाहिनेतर्फका सबैजसो टोल पर्छन् । वसन्तपुर र आसपास क्षेत्रका कुमारी, गणेश, भैरव, लाखे आज, हल चोक, आकाश भैरव, पुलुकिसी आज, लाखेनाच, श्वेत भैरव, स्वच्छन्द भैरव, अशोक विनायक, दागी, किसिचा, कुमारी देवी, महाकालीलगायत गुठी एक भएर इन्द्रजात्रा पर्व व्यवस्थापनमा जुटेका छन् ।
अध्यक्ष कोष स्थापना    

सरकारले काठमाडौँ उपत्यकाको मुख्य जात्रामध्येमा पर्ने इन्द्रजात्रा व्यवस्थापनका लागि अक्षयकोषको स्थापना गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीनै तहको सरकारको सहभागिता रहने गरी रु पाँच करोडको कोष स्थापना गरेको जनाएको छ । मन्त्रालयले ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापना गरिएको जनाएको छ ।

विज्ञप्तिअनुसार अक्षयकोषमा रहेको जम्मा रकमको ब्याजबाट वर्षेनी हुने जात्राको खर्च व्यवस्थापन हुनेछ । इन्द्रजात्रालगायत उक्त अवसरमा सञ्चालन हुने जात्रापर्वको सञ्चालन तथा व्यवस्थापन गर्नका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) को यही भदौ २२ गतेको बैठकले उक्त निर्णय गरेको थियो ।

उक्त कोषमा नेपाल सरकारबाट रु एक करोड ५० लाख, प्रदेश सरकार (३ नं) बाट रु एक करोड, कामपाबाट रु दुई करोड र गुठी संस्थानबाट रु ५० लाख सहयोग रहेको छ । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार छिट्टै इन्द्रजात्रा व्यवस्थापन कोषमा उक्त रकम जम्मा गरिनेछ । उहाँका अनुसार यस वर्ष कोष स्थापना भएको र अर्को वर्षमा हुने जात्रा उक्त कोषको व्याज रकमबाटै व्यवस्थापन हुनेछ ।

उक्त कोषको सञ्चालन तथा व्यवस्थापनका लागि कामपा प्रमुखको अध्यक्षतामा समिति गठन गरिनेछ । समितिले प्रत्येक वर्ष इन्द्रजात्रामा हुने खर्चको बाँडफाँट गर्नेछ भने जात्राको सञ्चालन इन्द्रजात्रा व्यवस्थापन समितिले गर्नेछ । जात्रा सञ्चालनसम्बन्धी कार्यविधि भने कामपाबाट निर्धारण भएबमोजिम हुनेछ । अब रकम अभावले जात्रा सञ्चालन गर्न हुने समस्या समाधान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.