जिम्बाबेका राष्ट्रपति भ्रमण छोट्याएर स्वदेश फिर्ता
हरारे, २० भदौ : जिम्बाबेका राष्ट्रपति इम्मर्सन मनाङ्ग्वाले आफ्नो बैदेशिक भ्रमण छोट्याएर स्वदेश फर्किनुभएको छ ।
दक्षिण अफ्रिकाको राजधानी केप टाउनबाट उहाँ निर्धारित समयभन्दा अगाडि नै शुक्रबार बिहान स्वदेश फर्किनुभएको हो ।
जिम्बाबेका पुर्वराष्ट्रपति रोबर्ट मुगाबेको निधन भएको थाहा पाएपछि उहाँले तत्काल स्वदेश फर्कने निर्णय गर्नुभएको राष्ट्रपतिका प्रवक्ता जर्ज चाराम्बाले बताउनुभयो ।
राष्ट्रपति मनाङ्ग्वा गत मङ्गलबारदेखि दक्षिण अफ्रिकाको भ्रमणमा जानुभएको थियो । विश्व आर्थिक मञ्च अफ्रिकाको सम्मेलनमा सहभागिता जनाउन उहाँ जानुभएको हो ।
पुर्वराष्ट्रपति मुगाबेको ९५ बर्षको उमेरमा निधन भएको उहाँ निकट आधिकारीक श्रोतहरुले शुक्रबार जानकारी दिएका हुन् । मुगाबेलाई गत अप्रिलदेखि सिङ्गापुरमा उपचार गराइएको थियो ।
“जिम्बाब्बेका राष्ट्रपिता तथा पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको निधनको खवरले मलाई स्तब्ध बनाएको छ,” राष्ट्रपति मनाङ्ग्वाले ट्वीट गर्नुभएको छ ।
जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे प्रथम प्रधानमन्त्री निवार्चित हुनु भएको थियो । उहाँले करीब चार दशक देशमा शासन गर्नुभएको थियो ।
सन् २०१७ को नोभेम्बरमा सेनाले उहाँलाई अपदस्थ गरी नजरबन्द गरेको थियो । मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा भएको थियो । तत्कालीन सरकारको आलोचना गरेको आरोपमा सन् १९६४ मा जेल पर्नुभएका उहाँ मुद्दा नचलाई १० वर्षसम्म बन्दी जीवन बिताउनुभएको थियो ।
जिम्बाब्वे स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे देशको पहिलो प्रधानमन्त्री निर्वाचित बन्नुभएको थियो । त्यसपछि उहाँ सन् १९८७ देखि भने राष्ट्रपति बन्नुभएको थियो ।
बहुसङ्ख्यक काला जातिका मानिसलाई महत्व दिएर आफ्नो शासनकालको शुरुका वर्षमा निकै लोकप्रिय हुनुभएका मुगाबे अन्त्यमा भने जवरजस्ती निस्कासित हुनुभएको थियो ।
