गौरा भित्र्याइयो, पूर्वप्रधानमन्त्री देउवा र मुख्यमन्त्रीद्वारा शुभकामना

धनगढी, १७ भदौ : गौरा पर्व मनाइने प्रदेश नं ७ का गौरा घर र मन्दिरमा आज धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ ।

यो पर्व मनाउन व्रतालु महिलाले धान, साउँ, कुस, तील लगायतका बोटबिरुवा प्रयोग गरी तयार पारेको गौरा भगवतीको प्रतिमालाई धार्मिक अनुष्ठानका साथ आज गौरा भित्र्याएका हुन् । व्रतालु महिला सामूहिकरुपमा घर नजिकको खेतमा गई ‘फाग’ लगायतका गीत गाउँदै यो प्रतिमा तयार गर्दछन् ।

गौरा भित्र्याई सकेपछि व्रतालु महिलाले गौरी भगवती र महेश्वर (शिव) भगवान्को पूजाअर्चना गर्ने गर्दछन् । पूजामा विशेषगरी व्रतालु महिलाको सहभागिता हुन्छ । यसरी पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’ (पाँचथरीका गोडागुडी)को विशेष महत्व रहेको छ । ‘बिरुडा’लाई गौरा र महेश्वरको प्रसादका रुपमा ग्रहण गर्ने परम्परा रहेको स्थानीय चेतराज भट्ट बताउनुहुन्छ । पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादका रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन रहेको र यसरी खाँदा पेटसम्बन्धी रोग निको हुने जनविश्वाससमेत रहेको छ ।

यसअघि भाद्र पञ्चमी तिथिका दिन धार्मिक अनुष्ठानका साथ प्रत्येक घरमा तामाको भाँडामा पाँचथरीको गेडागुडी अर्थात् ‘बिरुडा’ भिजाएर राख्ने गरिन्छ । भिजाइएको बिरुडालाई नजिकको नदी, तलाउ तथा धारामा लगेर धुने विभिन्न ‘फाग’ सहित पूजा गर्ने चलन रहिआएको छ । आज नदी, तलाउ तथा धारमा यसरी मनाइने गौरालाई स्थानीय भाषामा ‘नानी गौरा’ र ‘नो’ लाई गौरा भन्ने चलन छ

गौरा भित्र्याइएसँगै धनगढीको वनदेवी मन्दिर, नैनादेवी मन्दिर, शिवपुरीधामलगायत मन्दिरका साथै गौरा घरमा गौरा भगवती र महेश्वर (शिव)को पूजा गर्ने महिलाको घुइँचो लागेको छ । पूजाको काम सकिएपछि हरेक दिन माहिला–पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई चैत, धमारी र देउडा खेल खेलेर रमाइलो गर्ने गर्दछन् । यी खेलहरुमा देवीदेवताका गाथा एवं प्रशस्तिसँगै वीर पुरुषहरुको योगदानसम्बन्धी इतिहास समेट्ने गरिएको पाइन्छ ।

पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिका रुपमा पाउन गरिएको व्रतको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएकाले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किंवदन्ती छ । गौरा सर्वशक्तिमान भएको विश्वासमा यो पर्व मनाउन थालिएको पनि अर्को भनाइ रहेको छ ।

यो पर्वले एक ठाउँमा भेला हुने अवसर प्रदान गरी आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने, इष्ट कूल देवता खुशी हुने विश्वास गरिन्छ । गौरा पर्वका अवसरमा राष्ट्रिय लोकदोहरी प्रतिष्ठनको पहलमा यहाँ गौरा पर्व महोत्सव शुरु भएको छ । गौरा पर्वका अवसरमा सरकारले सोमबार प्रदेश नं ७ मा सार्वजनिक बिदा दिएको छ ।

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले एक विज्ञप्तिमार्फत विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको र त्यसमध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गर्नुभएको छ ।

विशेषगरी सुदूरपश्चिममा मनाइने यस्ता पर्व सामाजिक सद्भावना बढाउने काममा कोशेढुङ्गा सावित भएको उल्लेख गर्दै सभापति देउवाले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भनी शुभकामना दिनुभएको छ ।

मुख्यमन्त्रीद्वारा शुभकामना 

गौरा पर्वका अवसरमा प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका बासिन्दाको सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना दिनुभएको छ ।

आज जारी गरिएको शुभकामना सन्देशमा मुख्यमन्त्री भट्टले गौरा जस्ता मौलिक पहिचान बोकेका पर्वहरुले नेपालीबीच एकता, धार्मिक सहिष्णुता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, आपसी सद्भाव, समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता र सद्भाव बढाउन मद्दत पुग्ने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.